Logo

विमानस्थलबाट चिनियाँ राष्ट्रपति सोल्टी होटल प्रस्थान्, काठमाडौंको आकाशमा हवाई गस्ती



काठमाडौं, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ त्रिभुवन विमानस्थलबाट आफू बस्ने होटल सोल्टी क्राउन प्लाजामा प्रस्थान गरेका छन् । सी आज अपराह्न विशेष विमान एयर चाईनाबाट काठमाडौँमा अवतरण गरेका हुन् ।

नेपालको द्विदिवसीय भ्रमणमा रहनुभएका राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिकतापूर्वक स्वागत अभिवादन गर्नुभयो । उहाँहरूलाई चिनियाँ विशिष्ट अतिथिको स्वागतमा पञ्चकन्याले साथ दिएका थिए ।

त्यसअघि राष्ट्रपति भण्डारीले विमानमा नै पुगेर राष्ट्रपति सीलाई स्वागत गरेकी थिईन् । चीनका राष्ट्रपति सीको काठमाडौँ आगमनसँगै उनको राजकीय भ्रमण प्रारम्भ भएको छ । विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा यहाँस्थित चिनियाँ दूतावासका उच्चअधिकारीले पनि राष्ट्रपति सीलाई स्वागत गरेका थिए ।

विमानस्थलमा नेपाली सेनाको एक टुकडीले विशिष्ट अतिथि राष्ट्रपति सीको सम्मानमा २१ तोपको सलामी दिएको थियो । चिनियाँ राष्ट्रपति सीको नेपाल बसाइलाई आनन्ददायी बनाउन भव्य तयारी गरिएको छ । सबै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ । विमानस्थलकै मूलद्वार राष्ट्रपति सीको स्वागतका लागि आकर्षक पारिएको छ ।

विमानस्थल परिसर र वरपर सातै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय पोशाक पहिरिएका विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितका जनसाधारणले नेपाल र चीनका झण्डा फहराएर चिनियाँ राष्ट्रपतिको स्वागत गरेका थिए । विशेषगरी त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति आतिथ्यता एवं आवासको प्रबन्ध गरिएको स्थल तथा त्यहाँबाट राष्ट्रपति भवन शीतल निवाससम्मको सवारी मार्गका दुवै किनार भव्य रुपमा सिङ्गारिएको छ । विमानस्थल प्रवेशको स्वागतद्वारदेखि नै राष्ट्रपतिलाई विभिन्न परम्परागत नेपाली बाजागाजासहित स्वागत गरिएको थियो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्