काठमाडौं, २६ असोज । नेपालको दुई दिने राजकीय भ्रमणका लागि हिजो (शनिबार) नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्यहरुसँग सामूहिक भेटवार्ता सम्पन्न भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्हरुसँग सीले सामूहिक भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबीचको सम्बन्धको बारेमा कुराकानी भएको थियो ।
त्यस्ते, नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको हालै काठमाडौंमा भएको भाईचारा सम्बन्धको बारेमा पनि चिनियाँ राष्ट्रपति सीले खुलेर प्रशंसा गरेका थिए । नेकपाका नेताहरुसँगको सामूहिक भेटवार्तापछि नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीबीच एक्लाएक्लै भेटवार्ता हुने भनिएको थियो । तर, सीले प्रचण्डसँग वान–टु–वान भेट दिएनन् ।
अब सी र प्रधानमन्त्री ओलीबीच शिष्टाचार भेटवार्ता हुनेछ भने त्यसपछि दुई देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता सुरु हुने छ। शनिबार अपराह्न नेपाल आएका सीले शनिबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । शनिबार बेलुका नै सी र देउवाबीच होटल सोल्टीमा भेटवार्ता भएको थियो। तस्वीर : प्रदीपराज वन्त