काठमाडौ २७ असोज। विश्व बैङ्कले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७।१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । बैङ्कले हालै सार्वजनिक गरेको दक्षिण एसियाली अर्थतन्त्र विशेष प्रतिवेदन ‘मेकिङ डिसेन्ट्रलाइजेसन वर्क’मा पर्यटकको वृद्धि तथा सार्वजनिक खर्चमा भएको सुधारले आर्थिक वृद्धिदर सकारात्मक रहने उल्लेख छ ।
यस्तो वृद्धिदर दक्षिण एसियाली मुलुकमा बङ्गलादेशपछि दोस्रो उच्च हुने छ । बङ्गलादेशको यस वर्षको वृद्धिदर ८।१ प्रतिशत पुग्ने बैङ्कको प्रक्षेपण छ ।नेपालपछि छिमेकी मुलुक भारतको वृद्धिदर छ प्रतिशत रहने छ ।
त्यसपछि माल्दिभ्सको ५।२, भुटानको ५, पाकिस्तानको ३।३, श्रीलङ्काको २।७ र सबैभन्दा कम अफगानिस्तानको २।५ प्रतिशत वृद्धिदर रहने प्रक्षेपण गरिएको छ ।
नेपालको आर्थिक वृद्धिदर आगामी वर्षमा भने घट्दै जाने प्रक्षेपण पनि विश्व बैङ्कको छ । सन् २०२० मा ६।४ र २०२१ मा सामान्य वृद्धि भई ६।५ पुग्ने अनुमान प्रतिवेदनमा उल्लेख छ ।
यद्यपि आर्थिक वृद्धिदर आगामी दुई वर्षसम्म औसतमा ६।५ प्रतिशत कायम हुने प्रक्षेपण गरिएको छ । सेवा र निर्माण क्षेत्रमा बढेका गतिविधिका कारण चालू वर्षमा नेपालको आथिृक वृद्धिदरलाई निकै सहयोग पुग्ने बैङ्कले जनाएको छ ।
भ्रमण वर्ष २०२० का तयारी कार्यक्रम, अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तथा ठूला होटलको समेत निर्माण पूरा हुँदा त्यसको प्रत्यक्ष लाभ नेपालको आर्थिक विकासमा देखिने बैङ्कले जनाएको छ । आजको गार्खापत्रमा खवर छ ।