काठमाडौं – गैरआवासीय नेपाली संघ एनआरएनएको नवौं विश्व सम्मेलन तथा महाअधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ। संघले सोमबार पत्रकार भेटघाट कार्यक्रम गरी सम्मेलनको तयारी पूरा भएको जनाएको छ।
संघका महासचिव बद्रि केसीले सम्मेलनमा २५ सय प्रतिनिधि सहभागी हुने बताए। ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ नारासहित आयोजना गरिएको सम्मेलनमा ८१ देशका गैरआवासीय नेपाली सहभागी हुने संघले जनाएको छ।
राजधानीको होटल हायात रिजेन्सीमा हुने सम्मेलन ३० गतेसम्म चल्नेछ। सन् २००३ देखि विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीलाई समेट्ने क्रममा संघले ८१ मुलुकमा आफ्नो राष्ट्रिय समन्वय परिषद् गठन गरिसकेको छ।
यो महाधिवेशनले आगामी कार्यकालका लागि नेतृत्वसमेत चयन गर्नेछ। आगामी नेतृत्वका लागि उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन्। पन्तको जन्म घर गोरखा हो। आचार्य पर्वतका हुन्।
आचार्यले सोमबार पत्रकार सम्मेलन आयोजना गरी आफ्नो प्यानल घोषणा गरेका छन्। आचार्य प्यानलबाट महासचिवमा जानकी गुरुङ बेल्जियम, उपाध्यक्षमा केशव पौडेल अमेरिका, मन केसी अस्ट्रेलिया, नरेन्द्र भाट मध्यपूर्व र महिला उपाध्यक्षमा रबिना थापा अमेरिकाले उम्मेदवारी दिने घोषणा गरेका छन्। कोषाध्यक्षमा सोम सापकोटाले उम्मेदवारी दिनेछन्।