Logo

राष्ट्रपति भण्डारी भोलि म्यानमार जाँदै, प्रतिनिधिमण्डलमा को–को छन्



काठमाडौं, २८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने राजकीय भ्रमणको लागि भोलि म्यानमार जाने भएकी छिन्। राष्ट्रपति भण्डारी म्यानमारका राष्ट्रपति उरु विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणमा भोलि बुधबारदेखि कात्तिक ३ गतेसम्म राजकीय भ्रमणमा जान लागेकी हुन् ।

परराष्ट्र मन्त्रालयले जनाएअनुसार उक्त भ्रमणमा राष्ट्रपति भण्डारीले म्यानमारका राष्ट्रपति मिन्तसँग भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीले भेट गर्नुहुने बताइएको छ । म्यान्मामा रहँदा राष्ट्रपति भण्डारीले नेपाली मूलका नागरिकसँग पिन ओ लिनमा भेटघाट गर्नाका साथै युनेस्कोको विश्व सम्पदा बगान र यङ्गोनको भ्रमण गर्ने जनाइएको छ ।

राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहने मन्त्रालयले हिजो जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्