काठमाडौं, २९ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन हिजोबाट काठमाडौंमा सुरु भएको छ । संघको नेतृत्वको लागि वर्तमान उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्यले उम्मेद्धवारी दिएका छन् । यो पटकपनि आफूहरुले सहमतिमै नेतृत्व चयन गर्ने प्रयास गरेको पूर्व अध्यक्ष डा. शेष घलले बताएका छन् । तर, प्रयास सफल नभए प्रजातान्त्रिक अभ्यासमा जाने उनको भनाई छ । नेतृत्वको लागि यो पटक आचार्य र पन्तबीच कडा प्रतिष्पर्धा हुने घलेको दाबी छ ।
मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ पूर्व अध्यक्ष घलले आफूहरुले पुरै टिम सहमतिमा चयन गर्न खोजेको पनि प्रतिक्रिया दिए । तर, त्यसो नभए निर्वाचनमा जाने पनि उनको भनाई छ । निर्वाचनमा तपाईले जसलाई समर्थन गर्नुहुन्छ, उसले चुनाव जित्छ अरे नि ? भनेर सोधेका प्रश्नमा उनले त्यस्तो हुनै नसक्ने स्पष्ट पारे । उनले भने,‘चुनावमा म एकजना व्यक्तिले त्यस्तो असर पार्नै सक्दिन् । हामी यहाँ तीन हजार प्रतिनिधिहरु छौं । सबैको आफ्नो विचार हुन्छ ।’
घलेले संगठनभित्र राजनीति हुनु स्वभाविक भएको पनि स्पष्ट पारे । उनले भने,‘एनआरएनएको राजनीतिमा सफल हुने व्यक्ति नेपालको राजनीतिमा लाग्यो भने पुरै सफल हुन्छ ।’घलेले आफू कुनैपनि अध्यक्षको उम्मेद्धवारतिर आफू नभएको सन्देश प्रवाह गरे । उनले भने,‘म अहिले कतैपनि छैन् । तर, म विचार गर्दैछु ।’ संघको नेतृत्वमा पन्त वा आचार्य को आउँछ ? भन्नेमा आफूलाई थाहा नभएको पनि उनको दाबी छ । घलेले निर्वाृचनमा कडा प्रतिष्पर्धा हुने पनि भविष्यवाणी गरे । उनले भने,‘मैले त यो निर्वाचनमा कडा प्रतिष्पर्धा हुने देखेको छु । मलाई लाग्छ ५० भोटको अन्तरले हारजित हुन्छ ।’
घलेले आफूले अध्यक्षद्धका उम्मेद्धवार कुल आचार्यको पक्षमा मतदान गर्न भनेर ह्विप जारी गरेको भन्ने आरोपको पनि खण्डन गरे । उनले भने,‘मलाई पोलिटिक्स खेल्न आउँदैन् । म सिधा देख्ने मान्छे हुँ ।’