काठमाडौं, २९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपाले आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रममा पुगेर सरकारको प्रशंसा गरेका छन् । उनले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण नेपालका लागि बहुआयामिक महत्वको बन्न पुगेको टिप्पणी गरे ।
अध्यक्ष थापाले दैवी प्रकोप, नाकाबन्दीलगायत समस्याबाट नेपाली जनताले कष्ट भोगिरहेको अवस्थामा चीनसँगको दीर्घकालीन आर्थिक विकासको नयाँ खाका खोल्ने सरकारको प्रयासकोे सराहना गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चाडपर्वका अवसरमा आज काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा सरिक हुने क्रममा पत्रकारसँग कुरा गर्दै अध्यक्ष थापाले छिमेकी मुलुकसँगको रेल, तेल, बिजुली र पारबहनको सम्बन्ध भनेको नेपालको ‘पहिचानका लागि रणनीति’ हो भने ।
नेपालका राजनीतिक दलहरुबीच विभिन्न किसिमका मतभेद भए पनि आत्मियता र सद्भाव कायम राखेर शुभकामना आदानप्रदान गर्ने संस्कृति परम्परादेखि चलिआएको उल्लेख गर्दै अध्यक्ष थापाले यस्तै किसिमको सद्भाव र एकता कायम राखी मुलुकको विकास, राष्ट्रियताको संरक्षण र समृद्धिका लागि मिलेर जानुुपर्ने आवश्यकता औँल्याए ।
अरू देशको तुलनामा नेपालका पार्टीहरुबीच जतिसुकै समस्या भए पनि शान्तिपूर्ण रुपमा समस्या समाधान गर्ने चरित्र नेपाली नेताहरुमा रहेकाले यो एकतालाई मुलुकको सर्वाङ्गिण हित र आवश्यकतामा प्रयोग गर्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष थापाले विचार र मार्गचित्र हरेक दलको फरक हुने भए पनि मुलुकको मूलभूत विषयमा एकता र समझदारी भए देश र प्रजातन्त्र बलियो हुने तर्क गरे ।
दुई तिहाइ बहुमत रहेको सरकारले मुलुकको शान्ति, स्थायित्व र आर्थिक विकासमा ठूलो प्रगति हुन नसकेको जिकिर गर्दै थापाले सरकारले केही राम्रा काम गरेको भन्दै प्रशंसा गरे । रासस /File Photo-Mukunda Kalikote-RCN