काठमाडौं,३० असोज। मृगौला तस्करीमा संलग्न रहेको आरोपमा परेका मध्ये एक जना गृहमन्त्रीको निजी सचिवालयमा अधिकृतको रुपका कार्यरत कर्मचारी रहेको खुलेको छ ।
ललितपुरको पुल्चोकस्थित निदान अस्पतालबाट खुलेको मृगौला तस्करी प्रकरणमा पक्राउ पाँच जना मध्येमा गृहमन्त्री रामबहादुर थापाको निजी सचिवालय कार्यरत अधिकृत रामचन्द्र आले रहेको प्रहरीले जनाएको छ ।
उक्त अस्पतालका प्रमुख कार्यकारी अधिकृत बिपेन्द्र प्रधान, कानुन अधिकृत कुमुदकुमार भट्टराई, चिकित्सक राजेश पन्त र मृगौला लिने व्यक्ति लामालाई पक्राउ गरेर हाल प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले रामेछाप दोरम्बा–३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामाले नक्कली भान्जा खडा गरी मृगौला किनेर प्रत्यारोपण गरेको घटनामा संलग्न भन्दै उनीहरुलाई पक्राउ गरेको हो ।