Logo

‘आप्रवासन क्षेत्र सुधारमा सहकार्य गर्न मन्त्री विष्टको आह्वान’



काठमाडौं, ३० असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आप्रवासन क्षेत्र सुधारमा द्विपक्षीय तथा क्षेत्रीय सहकार्यका लागि आह्वान गरेका छन् ।  संयुक्त अरब इमिरेट्स (युएइ) मा जारी अबुधावी डायलगको पाँचौँ मन्त्रिस्तरीय बैठकअन्तर्गत ‘अन्तर क्षेत्रीय सहकार्य’ विषयको उच्चस्तरीय छलफलमा भाग लिँदै उनले नेपालको एकल प्रयासबाट मात्रै आप्रवासन क्षेत्र सुधार हुन नसक्ने बताए ।

उनले द्विपक्षीय तथा क्षेत्रीय प्रयासबाट नै आप्रवासी कामदारले महत्वपूर्ण लाभ हासिल गर्नेमा नेपाल विश्वस्त रहेको बताए । “मलाई विश्वास छ आजको छलफलले क्षेत्रीय परामर्श प्रक्रियाबीचको आपसी सहकार्यलाई अघि बढाउन सहयोग पु¥याउनेछ”, मन्त्री विष्टले भने । आप्रवासनको क्षेत्रमा देखिने गरी सुधार ल्याउन निरन्तर संवादको खाँचो रहेको उनको भनाइ थियो ।

कोलम्बो प्रोसेस र अबुधावी डायलगजस्ता क्षेत्रीय परामर्श मञ्चका बैठकले सुरक्षित आप्रवासन तथा गतिलो सहकार्यका लागि मार्ग पहिल्याउनुका साथै आप्रवासन क्षेत्रलाई मर्यादित, व्यवस्थित बनाउने सन्दर्भमा राम्रा अभ्यासलाई सहजीकरण गरेको उनले बताए ।

नेपालले कोलम्बो प्रोसेसको अध्यक्षता गरिरहेको छ । प्रोसेस कामदार पठाउने एशियाली मुलुक सहभागी रहेको क्षेत्रीय परामर्श मञ्चका रुपमा रहेको छ, जसमा नेपालसहित अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का, थाइल्याण्ड र भियतनाम सदस्य रहेका छन् ।

प्रोसेसले पनि आप्रवासनलाई सुरक्षित, व्यवस्थित र भरपर्दो बनाउन छलफल गर्दै आएको छ । प्रोसेसमा विभिन्न पाँच विषयगत क्षेत्रमा केन्द्रित भएर आप्रवासनका क्षेत्रमा देखिएका परिवर्तनका बारेमा बहस हुँदै आएको छ । सीप तथा क्षमता अभिवृद्धि, विप्रेषणको व्यवस्थापन, कामदारको मर्यादित भर्ना, पूर्वप्रस्थान अभिमुखीकरण र श्रम बजारको विश्लेषणलगायत क्षेत्रमा सुधारको काम भइरहेको छ ।

क्षेत्रीय परामर्श मञ्च आफैँमा ज्ञान उत्पादनसँग जोडिएको उल्लेख गर्दै मन्त्री विष्टले कोलम्बो प्रोसेस र अबुधाबी डायलग दुवै आप्रवासन सुशासनसँग सम्बन्धित सान्दर्भिक विषयवस्तुमा आधारित अध्ययनमा केन्द्रित रहेको बताए।

उनले नेपाल हाल कामदारको हक अधिकार रक्षार्थ कानूनी तथा नीतिगत सुधारमा केन्द्रित भएको जानकारी दिए। मन्त्री विष्टले कामदारको मर्यादित भर्ना प्रक्रिया, समयोचित व्यवहार र वैदेशिक रोजगारमा लाग्ने सम्पूर्ण लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने विषयलाई नेपालले प्रवद्र्धन गर्दै आएको बताए।

पछिल्लो समय सरकारले आन्तरिक रोजगारी अभिवृद्धिका साथै वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित र मर्यादित बताउन विभिन्न कदम चाल्दै आएको छ । नेपालले श्रम आप्रवासनका क्षेत्रका मूलभूत मान्यता र सिद्धान्तमा आएको परिवर्तनलाई आत्मसात गरी समयानुकूल समझदारी गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।

अबुधावी डायलगको अध्यक्षता गरेकामा युएइ सरकारलाई बधाई दिँदै उहाँले अन्तर–क्षेत्रीय सहकार्यलाई थप बढोत्तरी दिन यूएईले नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । बैठकमा सहभागी हुन तीन सदस्यीय नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै मन्त्री विष्ट मङ्गलबार युएइ प्रस्थान गरेका थिए ।

सो क्रममा उनले युएइका मानव संशाधनमन्त्री नासेर विन थानी अल हम्लीसँग भेटवार्ता गरी त्यहाँ कार्यरत नेपालीको पारिश्रमिकलाई समयानुकूल वृद्धि गर्ने विषयका साथै नेपाली कामदारको सीप विकासका लागि नेपाल सरकार र युएइ सरकारबीच सहकार्य गर्ने विषयमा छलफल गरेका थिए। रासस



प्रतिक्रिया दिनुहोस्