जनकपुर, १ कात्तिक । जनकपुर विमानस्थलको बुद्ध एयर काउन्टरमा तोडफोडको अभियोग लागेका सांसद प्रमोद कुमार शाह रिहा भएका छन् । थुनछेकको बहसपछि जिल्ला अदालत धनुषाका न्यायाधीश तेजप्रसाद पौडेलले शाहलाई आज साधारण तारेखमा रिहा गर्ने आदेश दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले उनीमाथि मुद्दा दायर गरेको थियो । त्यसउपर थुनछेकको बहसपछि उनलाई रिहा गर्ने आदेश भयो । उनीमाथि मुद्दा भने चलिनै रहनेछ ।
यसअघि थप चार दिन हिरासतमा राख्ने अनुमति अदाललते दिएको थियो । शनिबार बुद्ध एयरको विमानको उडान ढिलाई भएपछि भीआइपी कक्षमा आफूलाई बेवास्ता गरेको भन्दै शाहले तोडफोड गरेका थिए । उनलाई काठमाडौंबाट पक्राउ गरिएको थियो ।
राजपा सांसद शाहको पक्राउपछि उक्त पार्टीको धनुषा जिल्ला कार्यसमितिले आन्दोलनको घोषणा गरेको थियो । उनको रिहाई नभए कडा कदम चाल्ने राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले चेतावनी दिएका थिए ।
File Photo