Logo

ठूला विकासे आयोजना अलपत्र, सरकार भाषणमै सिमिति



काठमाण्डौ । ठूला विकासे आयोजना कुनै पनि सन्तोषजनक रुपमा निर्माण भइरहेका छैनन् । बर्षेनी निर्माण सकिनै लाग्यो भन्दै भाषणबाजी गरिन्छन् । दु्रतगतिमा निर्माण भईरहेको भनिएतापनि बहानाबाजीमै रुमल्लिरहेका छन् । दु्रतगतिका ठूला आयोजनाको काम भने न्यूनगतिमा पनि हुन सकिरहेका छैनन् ।

ठूला आयोजनाका रुपमा यो बर्षभित्र निर्माण सम्पन्न भईसक्ने भनिएका मेलम्ची खानेपानी आयोजना र माथिल्लो तामाकोशी जलविद्युत आयोजना दुबैको काममा ढिलाई गरिदै आइएको छ । काठमाडौं तराई फास्ट ट्रयाक, बुढीगण्डकी जलविद्युत आयोजना कुनै पनि आयोजनाको काम दु्रत गतिमा अगाडी बढ्न सकेको छैन ।

निर्माण कार्य सुस्त छ । साउनदेखि असोजसम्म तीन महिनाको अवधिमा बुढीगण्डकीको २ दशमलब ४ प्रतिशतमात्रै भौतिक तथा वित्तिय प्रगति हुन सकेको छ । जुन कुरा महालेखा परीक्षणको कार्यालयको प्रतिवेदनले स्पष्ट पारेको छ ।

२०७५ साल पुष महिनाबाट विद्युत उत्पादन थाल्ने भनिएको माथिल्लो तामाकोशीको काम अड्किएर बसेको छ । २०७६ असारमा सम्पन्न गर्ने भनियो । तोकिएकै अवधिमा पूरा नभएपछि २०७६ पुसबाट उत्पादन थाल्ने नयाँ मिति तोकिएपनि तामाकोशीको विजुली उत्पादन हुने कुनै अत्तोपत्तो नै छैन । २०६५ सालमा ३५ अर्ब लागत तोकिएकोमा अहिले बढेर ७३ अर्ब ६८ करोड पुगिसकेको छ ।

उपत्यकाका ४० लाख जनतालाई खानेपानी उपलब्ध गराउने लक्ष्य लिएको मेलम्ची खानेपानी आयोजनाको यो बर्ष २ दशमलब २ प्रतिशतमात्रै काम सम्पन्न भएको छ । यता सर्वसाधारण मेलम्चीको पानीको पखाईमा वाक्क दिक्क भइसकेका छन् । ९० प्रतिशत काम सम्पन्न भएको सरकारी दाबी रहदा ठेकेदार नियुक्तीमै विवादका कारण सम्पन्न हुने अझै टुंगो लागेको छैन ।

यता चार बर्षमा निर्माण सकिसक्ने भनेर नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई दु्रतमार्ग फास्ट ट्रयाकको काममा पनि ढिलाई हुदै गईरहेको छ । चालू बर्षको असोजसम्मा शून्य दशमलव ५ प्रतिशतमात्रै काम हुन सकेको छ । चालू खर्च ६ दशमलब ८ प्रतिशत हुदा पूजीगत खर्च ० दशमलब ४ प्रतिशतमात्रै छ । सरकारले यो बर्ष १५ अर्ब बजेट छुट्याएको छ ।

दु्रतमार्ग छिटै बनाईसक्नेमा सरकार र नेपाली सेनाबिच समन्वयको कमि देखिएको छ । माथिल्लो तामाकोशीदेखि दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजना, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल, दोस्रो अन्तराष्ट्रिय बिमानस्थल निजगढ बाराको भौतिक तथा वित्तिय प्रगती शून्य प्रतिशतमा छ । अर्बौ बजेट छुट्याएपनि काम शून्य प्राय रहदा बर्षौदेखि अधिकांश आयोजनाको काम अधुरै छन् । जस्लाई पूरा गराउने जागर यो सरकारमा पनि देखिएको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot