Logo

रौतहट बमकाण्डः घटनास्थल छाप्रोको प्रमाण एकै रातमा नष्ट, सीडीओ र प्रहरीले आँखा छोपेका थिए



रिपोर्टर्स नेपाल खोजः नेपाली काँग्रेसका सांसद मोहम्मद अफताब आलम मुछिएको १२ वर्ष अघिको रौतहट बमकाण्डको प्रमाण एकै रातमा मेटिएको थियो । २७ चैत २०६४ मा बम राखिएको गोठमा घटना घटेपछि रातभरमा प्रमाण नष्ट गर्न लगाइएको थियो ।

घटनास्थल रहेको छाप्रोमा रहेका सबै प्रमाण मेटाइएको थियो । रगतको टाटा सबै छोप्न पोतिएको थियो । घटनापछि न्याय माग्दै काठमाडौं आइपुगेकी रोक्शाना खातुनले विष्फोट भएको गोठ तत्काल मर्मत गरिसकिएको बताएकी थिइन् । रिपोर्टर्स क्लबमा आएर उनले भनेकी, छानविन गर्ने हो भने गोठमा पुगेको क्षति छोप्न टालिएको अझै देखिन्छ ।

घटना खुल्ने भयले गोठ नष्ट गरिएन । बरु क्षति टालियो । तर, टालिएको क्षति रौतहटका तत्कालिन सीडिओ र प्रहरी प्रमुखले देखेनन् । उनीहरुले आँखामा पट्टी हाले । घटनापछि प्रहरीमा उजूरी गर्न जांदा प्रहरीले बेवास्ता गरेको थियो । ९ वैशाखमा उजूरी गर्न जाँदा प्रहरीले दर्ता गर्न नमानेको श्रीनारायणले बताएका थिए ।

घाइतेलाई जिउँदै ईँट्टा भट्टामा हालिएको थियो । त्यसपछि त्यहाँ रहेका खरानीहरु सबै पुरिएको थियो । घटनाका प्रत्यक्षदर्शी सराजुल मोहम्मदले घटना लुकाउन गरिएको षड्यन्त्रको सनसनीपूर्ण खुलासा गरेका थिए ।

घटनाका प्रत्यक्षदर्शी सराजुलले घाइतेलाई अस्पताल लगौं भन्दा ईंट्टाभट्टामा हाल्ने भनेपछि त्यहाँबाट भागेका थिए । उनले आफ्नो पनि ज्यान जानसक्ने देखेर भागेको बताए ।

राजपुरको फर्दवा गाउँनै धूंवाले ढाकिने गरी भएको बम विष्फोटको घटना लुकाउन खोजिएको थियो । रौतहट क्षेत्र नं २ बाट पहिलो संविधानसभामा निर्वाचित मोहम्मद अफताव आलम स्वयं घटना लुकाउन सक्रिय रहेको पिडितको भनाई थियो । आफ्ना भाई महताफलाई खटाएर उनले पिडितलाई पैसाले किन्न खोजे । मृतक ओसे अख्तरका बाबु जोबेर मियांले रिपोर्टर्स क्लब नेपालमा भनेका थिए,‘हामीलाई तीन लाख रुपियां दिन्छु चुप लाग भनिरहेका छन् ।’

तर, नयाँ पत्रिकासँगको अन्तरवार्तामा उनका एक भाई मोहम्मद सकिल अख्तरले घटना नै नघटेको दाबी गरे । रौतहटमा त्यस दिन कुनै बम बिष्फोट नभएको दाबी गरे । जबकि त्यस दिनको बिष्फोटले सिंगो रौतहट र आसपासका जिल्लामा समेत आवाज पुगेको थियो । बम बिष्फोटले सिंगो रौतहटवासी त्रसित भएको घटना नै नभएको अख्तरको दाबीले झन् शंका पैदा भएको छ । घटनामा मारिएकाहरुको न सास देखाउन सके न लास । उनीहरुबारे सोध्दा अफताबका भाई सकिलले थाहानभएको दाबी गरे ।

घटनाको सबै प्रमाण मेटेको र राजनीतिक प्रभावले घटनाको अनुसन्धान हुन नदिइएकाले पनि अफताबको परिवार कारबाहीमा नपर्नेमा ढुक्क छ । यसलाई राजनीतिक रंग दिन खोजिएको छ । यसमा २०६४ चैत्रमा बहालवाला प्रहरीहरुको समेत मिलेमतो देखिएको छ । घटनाको ढाकछोप गर्न स्वयं जिम्मेवारी प्रहरी अधिकारीहरु लागेको खुलिसकेको छ ।

घटनामा जो जो बोल्छन् उनीहरुलाई पैसाले प्रभावित पार्न खोजियो । श्रीनारायण सिंहलाई फकाउन प्रहरीमा कार्यरत उनका आफन्तलाई खटाइएको थियो । क्षतिपूर्तिस्वरुप रकम दिने भनिएको थियो । तर पिडित पक्ष पैसाबाट नबिक्ने भन्दै घटनाको दोषीलाई कारबाही गरिछाड्न दृढ थियो ।

बम बिष्फोटपछि घाइते र मारिएका अन्यलाई चिम्नीभित्र हाल्ने समयमा केही गलत प्रवृत्तिका प्रहरी स्वयं संलग्न थियो भन्ने प्रत्यक्षदर्शीको भनाईलाई आधार मान्ने हो भने त्यतिबेला प्रहरीले उल्टै घटना लुकाउन मद्यत गरेको देखिन्छ । त्यतिबेला देशभर संविधान सभा चुनावको चहलपहल भइरहदा रौतहटको पचरुखी गाविसको छतावना गाउ“ शोकाकुल बनाउने घटना लुकाउन खोज्नेहरु उदांगिदै गयो । घटनामा मारिएकाहरुका आफन्त खोज्दै आइरहेपनि घटना लुकाउन खोजियो । यसका लागि प्रहरी प्रशासनको समेत दुरुपयोग गरिएको थियो । अहिले घटना उदांगिएको छ । अफताप आलम पक्राउ परेका छन् ।

१२ वर्ष अघि रिपोर्टर्स क्लबमा गरिएको सनसनीपूर्ण खुलासा
रौतहटको राजपुर फर्दवास्थित जोबेर मियांको घरमा काम गर्ने सराजुल मोहम्मदले २७ चैत २०६४ मा भएको बम बिष्फोटमा ज्यान जोगाएपछि काठमाडौं आएर सनसनीपूर्ण खुलासा गरेका थिए । रिपोर्टर्स क्लब नेपालको तत्कालिन पुतलीसडकस्थित कार्यालयमा आएर उनले गरेको खुलासा अत्यासलाग्दो थियो ।

त्रसित हुदै रोतहट छाडेर काठमाडौं आएका उनले नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको चुनावी प्रायोजनका लागि आफन्तको घरमा जम्मा गरिएको बम बिष्फोटमा परी घाइते भएकालाई स्थानीय इट्टाभट्टाको चिम्नीमा हाली हत्या गरेको देखेको खुलासा गरेका थिए ।

‘असुरक्षित ठानेर वैशाख ४ गते रौतहटबाट काठमाडौं आएको हु“,’ रिपोर्टर्स क्लब नेपालको सम्पर्कमा आएका सराजुले त्यतिबेला भने,‘ बमको छर्राले घाइते भएका तीन जनालाई चिम्निमा हालिदिएको आंखैले देखेको र मृतकका परिवारलाई जानकारी गराएकाले रौतहटमा बस्नु खतरा ठानें ।’

बमको छर्रा लागी घाइते भएकालाई चिम्नीमा हाल्दा प्रहरी पनि संलग्न रहेको आरोप थियो उनको । घटनामा मारिएकामध्येका ओसे अख्तर मिया उनकै मालिकका छोरा हुन् । मियालाई मोहम्मद अफतावका सहोदर भाई मेहताव र सराजसहित अन्य दुई अपरिचितले घरमै मोटरसाइकल लिई चुनावी प्रचारप्रसारका लागि भन्दै लिन आएका थिए । रोजागरीका सिलसिलामा दुई वर्ष दुबई बसेर आएका मिया उनीहरुस“गै फर्दवातर्फ लागेपछि सराजु पनि साइकल चढी त्यसतर्फ लागेको बताएका थिए ।

आफू फर्दवामा पुग्दा अफतावको आफन्तको गोठमा बमको थुप्रो राखिएको र ३०–३५ जना बिडी र चुरोट पिएर हा“सो ठट्टा गर्दै गफमा मस्त भएको उनको भनाई थियो । सा“झको छ बजेतिर गोठमा अचानक बम विष्फोट भएपछि भने हा“सो ठट्टा रुवावासीमा परिणत भयो । घाइतेहरु चिच्याउदै बाहिर निस्कन थाले । ‘बमको छर्रा लागी घाइते भएकाहरु रगतले लतपतिएर निस्कन थाले, त्यसमध्ये मैंले चिनेको ओसे अख्तर मिया र पिन्टुलाई धू“वाले मुखै कालो भएको अवस्थामा देखें ।’ उनका अनुसार मियाको बायां तिघ्रा र दाहिने पाखुराको मासुको चोइटा उछिट्टिएको थियो भने पिन्टुको दुवै हातको मासुको चोक्टा उछिट्टिएको तड्कारो देखिन्थ्यो । उनले मियालाई समातेर लान खोज्दा घटनास्थल आइपुगेका अफतावका मान्छेहरुले लान नदिएर आफूलाई पनि बस्न भनेपछि भागेको बताए । भागेर छेवैको गहु“खेतमा लुकेर रात बिताएको थिए । उनको सनसनीपूर्ण खुलासाका बाबजुद पहुच र प्रभावका कारण अफताव पक्राउबा जोगिएका थिए ।

गहु“ खेतमा लुकेरै पिन्टु, मिया“सहितका व्यक्तिलाई चिम्नीमा हालिएको दृश्य देखे । ‘आफ्नै खर्चमा उपचार गर्छौं छाडिदेऊ घर जान्छौं भन्दै हात जोडिरहेका थिए । अब कहा“ घर जाने भन्दै पालैपालो चिम्नी भित्र हालिदिए ।’ रौतहटकै जयनगर घर भएका तर नाम थाहा नभएकालाई पनि चिम्नीमा हालेपछि आफू आत्तिएर त्यहा“बाट पनि भागेको बताएका थिए सराजुले । घटनामा आधा दर्जनलाई चिम्नीभित्र हालिएको उनको दाबी थियो ।

मृतक पिन्टुका बाबु श्रीनारायण सिंहको भनाई यस्तो थियो,‘बम विष्फोटपछि भारत घर भएका केही मान्छे चुनावका समयमा रौतहट छिरेको आफन्त हराएको भन्दै खोजीका लागि आइरहने गर्छन् ।’ आफन्त खोज्न आउनेलाई मारिइसकेको बताइदिएका थिए उनले । त्यसो त सिंहले आफ्नो छोरालाई चिम्नीमा हालिएको सहजै पत्याएका थिएनन् । छोरा खोज्न भारतको मतियारी, सितामढीलगायतका स्थानमा पुगे । रहमान क्लिनिकमा फर्दवा बमकाण्डमा घाइते सफिउद्यिन भन्ने व्यक्ति भेटिएपछि उनले वास्तविकता थाहापाएका थिए । छोरा कहीं फेला नपरेपछि प्रत्यक्षदर्शी सराजुको भनाई पत्याउ“दै घटनामा संलग्नलाई कारबाहीका लागि पहल गर्दै हिडेको थिए ।

घटना भइसकेपछि अफतावका भाई मेहतावले हुनु भइसक्यो राहतस्वरुप पैसा दिन्छु उजूरीमा नलाग्न भन्दै टेलिफोन गर्ने गरेको श्रीनारायणले बताएका थिए । छोराको हत्यारालाई कारबाही गराएरै छाड्ने दृढता व्यक्त गरेका थिए ।

ओसे अख्तरकी आमा रोक्शाना खातुनले छोरा मारिएको खबर घटनाको भोलिपल्ट विहानै थाहापाएकी थिइन् । विहानै अत्तालिदै आइपुगेको सराजुले हत्याकाण्डबारे बताएपछि उनले सम्धीलाई खबर गरेककी थिइन् । विभिन्न सम्पर्कसूत्रमार्फत् सम्धी समसुल हकले खोजी गरेपछि अफताव निकट सराजले अख्तर मारिइसकेको बताएका थिए । स्वीटर र जुत्ता दिदै उनले खोजी नगर्न भनेको खुलाएकी थिइन् खातुनले । आफ्नो छोराको हत्यामा अफताव र उनका भाई महतावसहित प्रहरी प्रशासन संलग्न रहेकाले कारबाही हुनुपर्ने उनको माग थियो । पैसा दिएर कुरा थामथुम पार्न खोजिएको बताउदै उनले भनेका थिए,‘हामीलाई पैसा हैन छोराको हत्या गर्नेमाथि कारबाही चाहिन्छ ।’

घटनापछि प्रहरीमा उजूरी गर्न जांदा बेवास्ता भएको गुनासो पिडितहरुको थियो । ९ वैशाखमा उजूरी गर्न जाँदा प्रहरीले दर्ता गर्न नमानेको श्रीनारायणले बताएका थिए । जिल्लाका अधिकारप्राप्तहरुले नसुनेपछि काठमाडौं आई राष्ट्रिय मानवअधिकार आयोगमा उजूरी दर्ता गरेका थिए । त्यसपछि बल्ल घटनाबारे केही सुनुवाई भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot