Logo

दुर्गम गाउँमा एक्सरे सेवा शुरु



ओखलढुङ्गा २ कात्तिक : जिल्लाको दुर्गम गाउँ रानीवनमा एक्सरे सेवा शुरु गरिएको छ । चम्पादेवी गाउँपालिका–१० स्थित रानीवन प्राथमिक स्वास्थ्य केन्द्रले एक्सरे सेवा शुरु गरेको हो । दुर्गम क्षेत्रका नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवाको पहुँच पुर्याउन स्वास्थ्यचौकीबाट प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरोन्नति भएको करीब २४ वर्षपछि एक्सरे सेवा शुरु गरिएको हो ।

स्वास्थ्य केन्द्रलाई व्यवस्थित बनाएर सेवा थप गरिएको वडा नं १० का अध्यक्ष उज्जवन बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय सरकार र स्वास्थ्य सेवा विभागको पहलमा एक्सरेसहितको सेवा शुरु गरिएको हो । दक्ष जनशक्ति, विद्युत्सहित आवश्यक पूर्वाधारको अभावका कारण मेसिन दुई वर्षदेखि थन्किएर राखिएको थियो । गाउँपालिकाको रु सात लाख सहयोगमा आवश्यक सामान खरीद र पूवार्धार निर्माण गरिएको छ ।

वडा कार्यालय र व्यवस्थापन समितिको पहलमा १५ दिने तालीम सञ्चालन भइरहेको छ । तालीमप्राप्त रेडियोलोजिष्ट अभावका कारण सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले त्यहाँ कार्यरत कर्मचारीलाई तालीम दिइएको वडाध्यक्ष बुढाथोकीले बताए । गाउँमै ऐक्सरेसहितको स्वास्थ्य सेवा शुरु भएपछि स्थानीय खुशी भएका छन् ।

ऐक्सरे सेवा शुरु गरेको पहिलो दिन शुक्रबार मात्रै २५ जनाले सेवा लिएका छन् । गाउँमै ऐक्सरे हुन थालेपछि जाँच गराएको वडा नं १० की श्याममाया तामाङले बताउनुभयो । यसअघि सामान्य स्वास्थ्य समस्या भए पनि रामेछापको मन्थली वा काठमाडौँ जानुपर्ने बाध्यता थियो । स्वास्थ्य केन्द्रमा एक चिकित्सकको दरबन्दी छ । अहिले दुई अन्य चिकित्सक करारमा कार्यरत छन् ।



प्रतिक्रिया दिनुहोस्