Logo

प्रचण्डलाई एकताप्रति पछुतो, कठोर कदम चाल्ने तयारी



रिपोर्टर्स नेपाल, ३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीको एकताप्रति कतिपय पूर्व माओवादी असन्तुष्ट थिए । उनलाई एकता नगरौं भनेर लामो समय साथ दिएका कतिपय नेताहरुले सुझाव पनि दिएका थिए । सबैको सुझावलाई पन्छाएर प्रचण्डले जोखिम मोलेर तत्कालिन नेकपा एमालेसँग प्रचण्डले एकताको हात बढाए । अहिले त्यही एकताबाट प्रचण्ड पछुतो मान्न थालेका छन् ।

प्रचण्डले बेला बेलामा एकताबारे पछुतो लाग्न थालेको भन्ने गरेका थिए । आफू निकटस्थसँगको भेट कहीं कतै गल्ती त गरिएन भन्थे । पछिल्लो समय उनले राजनीतिक जीवनमा गल्ती गरिएछ नै भन्न थालेका छन् । प्रचण्ड निकटस्थ एक नेताका अनुसार एकता चौतर्फी घेराबन्दी बनेको निष्कर्षमा प्रचण्ड पुगेका छन् । उनले नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीबाट धोका भएको समेत भन्न थालेका छन् ।

आफ्ना सबैभन्दा नजिकका कृष्णबहादुर महरा महिलामाथि जर्बजस्ती प्रकरणमा परेपछिको घटनाक्रमप्रति प्रचण्ड सतर्क भएका छन् । ओलीले महराले अमेरिकी विकास सम्झौतासम्बन्धी रणनीति सम्झौता ‘एमएमसी’ संसदबाट पारित गर्नबाट अड्काएको खुलाएपछि प्रचण्ड असन्तुष्ट भएका छन् । देव गुरुङले महरा प्रकरणपछिका घटनाक्रम पश्चिमा षड्यन्त्र हुनसक्ने बताइरहँदा ओलीको भनाई बाहिर आयो । यसलाई प्रचण्डले ओलीको चेतावनी र त्रास देखाएको रुपमा बुझेको उनी निकटस्थ एक नेताले रिपोर्टर्स नेपाललाई बताए । ती नेताले भने, ‘पूर्व माओवादी हामीलाई कमजोर बनाउने षड्यन्त्रका रुपमा पछिल्लो घटनाक्रमलाई बुझिएको छ ।’

अमेरिका र पश्चिमालाई हेर्ने दृष्टिकोणमा ओली र प्रचण्डबीच द्धन्द्ध चर्केको रिपोर्टर्स नेपालले १ कात्तिकमा समाचार प्रकाशन गरिसकेको छ । विदेशीलाई हेर्ने दृष्टिकोणका अलावा सी जिनपिङको नेपाल भ्रमणका बखत प्रचण्डलाई एक्लै भेट्नबाट रोक्न खोज्ने प्रयास समेत नेकपाभित्रबाट भएको सूचना चुहियो । तर, प्रचण्डलाई सीले भेटे ।

सरकारमा आलोपालो सहमतिको विषय प्रचण्डले चुहाइसकेका छन् । यसको पालना हुनेमा प्रचण्ड स्वयं शंका गर्न थालेका छन् । नेकपाभित्र ओलीनिकटस्थले आलोपालो सहमति नभएको र ओली पाँच वर्ष प्रधानमन्त्री बन्ने बताइरहेका छन् । यी भनाईहरुलाई ओलीले नै प्रोत्साहित गरेको बुझाई पूर्व माओवादीभित्र रहेको छ । यसले पनि प्रचण्ड सतर्क बनेका छन् ।

आलोपालो समति बनेको हो र त्यसको कार्यान्वयन हुने भने अबको आठ महिनापछि प्रचण्ड प्रधानमन्त्री बन्नेछन् । तर, त्यसमा धोकाधडी हुनसक्नेतर्फ प्रचण्डलाई निकटस्थले सचेत गराएका छन् । एकतापछि पनि पूर्व एमाले र पूर्व माओवादी छुट्टिइरहेको अवस्थाबीच प्रचण्डले आफूलाई कमजोर बनाउन खोजिएको विषयबारे समिक्षा गरिरहेका छन् । उनी निकटस्थहरुले राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमबारे बसेर समिक्षा समेत गरेका छन् ।

घटनाक्रमको समिक्षापछि प्रचण्डले गत हप्ता कडा अभिव्यक्ति दिए । जसमध्ये धनगढीमा पुगेर महराले एमएमसी सम्झौता संसदबाट पारित गर्न अवरोध नगरेको भन्दै त्यसमा केही विषयमाथि प्रश्न उठेको बताए । उनले आफू फेरि जंगल जानसक्ने चेतावनी पनि दिए । दुवै अभिव्यक्ति अर्थपूर्ण छ ।
प्रचण्डले राजनीतिमा आश्चर्यजनक निर्णयहरु लिने गरेका छन् । जनयुद्ध देखि राजनीतिक मूलधारमा आइपुग्दा उनले जोखिमयुक्त कदम चाले । अहिले उनले फेरि कुनै जोखिमयुक्त कदम चाल्ने संकेत गरिसकेका छन् । प्रचण्डले ओलीबाट धोका भएको निष्कर्ष निकालेकाले अब त्यसको जवाफ दिनसक्ने उनी निकटस्थले जानकारी दिए ।

लामो समय टाढिएका प्रचण्ड पछिल्लो समय नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग नजिक हुनथालेका छन् । दुवैबीच भेटघाट समेत भइरहेको छ । यो प्रचण्डको कुनै कठोर कदम चाल्ने संकेत पनि हो । ओली सरकार दुई वर्ष पुग्नै लाग्दा उनले राजनीतिक जीवनमा अर्को कठोर कदम चाल्ने संकेतहरु दिइसकेका छन् । त्यसका लागि उनी निकटस्थ नेताहरुको सक्रियता विस्तारै बढ्दै गएको छ ।
File Photo



प्रतिक्रिया दिनुहोस्