साहित्यकार झमक घिमिरेको कृति जीवन काँडा कि फूलमा आधारित चलचित्र ‘जीवन काँडा की फूल’ २२ कार्तिक प्रदर्शनमा आउने भएको छ । घिमिरेको जीवनमा आधारित पुस्तकलाई चलचित्रमा विनोद विष्टले निर्माण तथा निर्देशन गरेका छन् । यो कृतिले घिमिरेलाई मदन पुरस्कार पनि प्राप्त गराएको छ ।
यो चलचित्रमा झमक सानो छँदाको भुमिकामा सिलगुडिकी अवस्था थापा र ठूला हुँदाको भुमिका काठमाडौंकी रोजिता वुद्धचार्यले गरेका छन् । त्यस्तै झमकको बहिनीको भुमिकामा बाल कलाकारमा स्वीकृति शर्मा र ठूलो हुँदा सारिका घिमिरे, वुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी, हजुरआमाको भुमिकामा मेनुका प्रधानलगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ । विष्टले यसअघि ‘प्रेम प्रतिक्षा’, ‘संग्राम’ र ‘म कसरी भनुँ’ जस्ता चलचित्र निर्माण र निर्देशन गरिसकेका छन् ।
शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन, रिता बलामी र विमला तामाङको मेकअप रहेको यो चलचित्रको सह निर्माता बद्री चौहान, उमेश सुवेदी र जुनु गौतम रहेका छन् । चलचित्रलाई श्रीराम वालाजी टेली फिल्म सुनिल मानन्धरले वितरण गर्दैछ ।