काठमाडौं, ३ कात्तिक । भिजिट नेपाल–२०२० सफल बनाउनको लागि नेपाल भ्रमण वर्ष सचिवालय र गैर आवासीय नेपाली संघबीच १७ बुंदे समझदारी भएको छ । सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल बनाउन सहयोग पुर्याउने उद्धेश्यले प्रचारात्मक कार्यक्रममा लागि यो समझदारी गरिएको हो ।
आइतबार पर्यटन बोर्डमा आयोजित कार्यक्रममा पर्यटनमन्त्री योगेश कुमार भट्टराईको उपस्थितिमा नेपाल भ्रमण वर्ष २०२० को सचिवालय तर्फबाट राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्य र गैर आवासीय नेपाली संघका नवनिर्वाचित अध्यक्ष कुमार पन्तबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
यस्तै सचिवालयले कुटनीतिक नियोगहरुको समन्वयमा ट्राभल एजेन्सी, टुर अपरेटर, सञ्चारमाध्यमलगायतसंग आवश्यक छलफल गरी नेपालको विशेषता प्रवद्र्धन गर्ने, संघले विश्वभरी कम्तिमा ५० देशमा मिस एनआरएन इन्टरनेशनल आयोजना गर्ने र प्रतियोगिताको फाइनल नेपालमै गर्नेलगायत सम्झौतामा उल्ल्लेख छ ।
समझदारीपत्रमा प्रत्येक गैर आवसीय नेपालीले भ्रमण वर्षका सन्दर्भमा एक जना विदेशी साथी नेपाल पठाउनुपर्ने, सचिवालय र संघको समन्वयमा विश्वभर रहेका नेपाली तथा विभिन्न संघसंस्थाहरुको सामाजिक सञ्जाल तथा वेवसाईटमार्फत भ्रमण वर्षसम्बन्धी सन्देश दिने सामग्रीको प्रचार गर्ने उल्लेख छ ।
कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले नेपालमा पर्यटकको संख्या वृद्धि हुन समय नलाग्ने भन्दै एकतावद्ध भएर लागेमा भ्रमण वर्ष सफलतापूर्वक सम्पन्न हुने बताए । भट्टराईले २०२० मार्च्भित्र गौतम बुद्ध विमानस्थल सञ्चालनमा आउने बताए ।
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम