Logo

रोशनीको ‘किटानी जाहेरी’ महरालाई चोख्याउने योजना



काठमाडौं, ३ कात्तिक । आवेगमा आएर रोशनी शाहीले बाहिर ल्याएको एउटा घटनाले निवर्तमान सभामुख कृष्णबहादुर महराको राजनीतिक जीवनमै ठूलो धक्का पुर्यायो । तर, घटनालगत्तै उल्टै महरालाई निर्दोष भन्दै आएकी रोशनी शाहीले १८ असोजमा प्रहरीमा पुगेर आफूमाथि जर्बजस्तीको प्रयास गरिएको भन्दै किटानी जाहेरी दिइन् ।

१२ असोजको राति आफूमाथि जर्बजस्ती भएको दाबी गरेकी रोशनीको न त स्वास्थ्य जाँच गरिएको थियो न त घटनास्थलको प्रहरी अनुसन्धान गम्भीरताका साथ भएको थियो । रोशनी उल्टै आफूले आवेगमा आएर बोलेको भन्दै सच्याउन थालिन् । उनले सामाजिक सञ्जालमा महराविरुद्ध लेख्ने र बोल्नेविरुद्ध लेखिरहिन् । यसबीच १८ असोजमा एउटा आश्चर्यजनक कदम चालिन् । उनले महराविरुद्ध किटानी जाहेरी दिइन् ।

जाहेरीमा आफूमाथि जर्बजस्ती प्रयासमात्र भएको उल्लेख थियो । यो योजनावद्ध तरिकाले हालिएको किटानी जाहेरी हो भन्ने कतिपय कानुनका जानकारको भनाई छ । किटानी जाहेरी दिनुपर्ने वाध्यकारी अवस्था रोशनीलाई परिसकेको थियो । अन्तर्राष्ट्रिय समुदायले पनि यो घटनातर्फ संकेत गर्दै बोलेपछि रोशनीले जाहेरी नदिए प्रहरी आफै अगाडि बढ्नुपर्ने अवस्था बनेको थियो । यस अवस्थामा रोशनीले मुद्दा कमजोर बनाउने गरी किटानी दिइन् ।

महराले प्रहरीमा बयान दिन मानेनन् । अन्ततः ३ कात्तिकमा रोशनी शाही स्वयं अदालतमा उपस्थित भएर छुटाउनका लागि बयान दिन पुगिन् । काठमाडौं जिल्ला अदालतमा आइतबार घटनाले नाटकीय रुप लियो । यसले किटानी जाहेरी देखि अहिलेसम्मका घटनामा महरालाई सुरक्षित अवतरण गर्ने कानुनी कला देखिन्छ ।

बयानका आधारमा फैसला गर्ने हो भने महरा बलियो भएका छन् । प्रहरीमा किटानी जाहेरी दिने शाहीले प्रहरीको करकापमा उजूरी दिएको बयान दिएर घटनालाई नयाँ मोड दिइसकिन् । यसले महरालाई फाइदा पुगेको छ । अब प्रहरीले दसी प्रमाणमा जान उत्तिकै कठिन छ । यसकारण महराले यो घटनामा सफाई पाउने सम्भावना बलियो बन्न पुगेको हो कि भन्ने देखिएको छ ।
File Photo



प्रतिक्रिया दिनुहोस्