काठमाडौं ४ असोज । डक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आज सोमबार शिलान्यास गरिने भएको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा साढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया सुरु भएको थियो ।
यसका लागि रु २२ अर्ब लाग्नेमा जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु ६ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । आज अपराह्न चन्द्रागिरि नगरपालिका–१, टोटेपाखामा सुरुङमार्ग शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको आयोजना निर्देशक श्यामप्रसाद खरेलले बताए ।
प्रवेशमार्गसहित ५.५६ किमि सुरुङमार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको रासससँगको कुराकानीमा जानकारी दिँदै उनले करिब रु ६ अर्ब प्रभावितलाई मुआब्जा वितरणमै खर्च हुने उल्लेख गरे ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–१, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको र हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको उनले सुनाए । धादिङको धुनिवेशी नगरपालिका–९ का प्रभावितलाई मुआब्जा दिने निर्णय भइसकेको हुँदा छिटो वितरण प्रक्रिया पनि सुरु गरिनेछ ।
चार वर्षमा सुरुङमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भएपनि यातायात नै सन्चालन हुनेगरी पहिलोपटक सुरुङमार्ग निर्माण हुन लागेको हो ।
उक्त मार्गमा दुईओटा साना ‘फ्लाइओभर’समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताए । सुरुङमार्गकै मुखमा र सतुंगलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ । सडक पूर्वाधारमा यहाँ निर्माण हुनलागेको ‘फ्लाइओभर’ पनि नेपालकै पहिलो हो ।
सुरुङमार्गका लागि असोज ६ गते जापानस्थित हाजमा आङदो कर्पोरेसनसँग सम्झौता भएको थियो । निर्माण कम्पनीले साढे तीन वर्षमा काम सक्नेछ । सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेशमार्गसमेत निर्माण हुनेछ ।
सोही परियोजनाअन्तर्गत् स्थानीय उत्पादन संकलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने आयोजनाले जनाएको छ ।