काठमाडौं, ४ कार्तिक । यौन हिंसाको अभियोगमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पाँच दिनको म्याद थपी अनुसन्धान गर्न आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासले आइतबार म्याद थपको आदेश दिएको हो।इजलासले शनिबारबाट लागू हुने गरी पाँच दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न भनेको छ।
>महानगरीय प्रहरी वृत्त, सिंहदरबारको आग्रहमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अनुसन्धानका लागि महरालाई थप सात दिन थुनामा राख्न इजलाससमक्ष समय माग गरेको थियो।अदालतले असोज २८ मा अनुसन्धानका लागि महरालाई थप १३ दिन थुनामा राख्न अनुमति दिएको थियो।
प्रहरीले पहिला नै १० दिन थुनामा राखेकाले महरालाई थप तीन दिन थुना राख्न अदालतले अनुमति दिएको थियो।प्रहरीलाई बयान दिन इन्कार गरिरहेपछि आइतबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराई सात घण्टा लामो बयान लिइएको थियो।
बयानपछि म्याद थपका लागि साँझ अदालत लगिएको थियो। साँझ अबेरसम्म चलेको बहसमा न्यायाधीश सुवेदीको इजलासमा पूर्वसभामुख महराले आफू र शाहीबीच पुरानै चिनजान रहेको दोहोर्याउँदै जबरजस्ती करणीको प्रयास नभएको बताएका छन्।
उनले इजलासमा भने– ‘रोशनीसँग पुरानो चिनजानको सम्बन्ध हो। रोशनी बिमारी छिन् भन्ने जानकारी पाएर त्यहाँ भेट्न गएको हुँ। कुनै जबरजस्ती गरेको छैन।’
उनले रोशनीको घरमा घटना घटेको भन्ने समयमा आफू शहरी विकास मन्त्री महम्मद इस्तियाक राईसँग गफ गरिरहेको दाबीसहित बयान दिएका छन् । आजको नेपाल समाचार पत्र दैनिकमा खवर छ ।