काठमाडौं, ४ कार्तिक । प्रदेश ५ को प्रदेश लोकसेवा आयोगको सदस्यमा नियुक्त भएकी राहेल पोखरेलको शैक्षिक प्रमाणपत्र र अनुभवको प्रमाणपत्रबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन थालेको छ ।
प्रदेश ५ का प्रदेशसभाका विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले फर्जी कागजात पेस गरी आफ्नै बुहारी राहेललाई प्रदेश लोकसेवाको सदस्यमा नियुक्ति दिलाएको खुलासा भएको थियो ।
फर्जी कागजात पेस गर्दै प्रदेश लोकसेवा आयोगको सदस्यमा नियुक्ति गराइएको खुलासा भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहेलको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्रबारे छानबिन गर्ने भएको हो ।
अख्तियारका सचिव महेश्वर न्यौपानेले प्रदेश लोकसेवाको नियुक्तिमा फर्जी कागजात प्रयोग गरिएको भन्ने विषयमा अख्तियारले गम्भीरतापूर्वक छानबिन गर्ने बताए । ‘यो विषयमा अख्तियारले अनुसन्धान अधिकृत नै तोकेर छानबिन गर्नेछ त्यसैले विस्तृत अनुसन्धानमा राखिएको छ,’ सचिव न्यौपानेले भने ।
प्रदेश ५ को लोकसेवा आयोगमा फर्जी कागजात पेस गरी राहेल शर्मालाई नियुक्त गरिएको विषय सार्वजनिक भएपछि आइतबार यस विषयमा अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलगायतका आयुक्तबीच समेत छलफल भएको थियो ।
प्रमुख आयुक्त घिमिरेले यस विषयलाई गम्भीरतापूर्वक छानबिन गर्न आवश्यक निर्देशन दिएको अख्तियार स्रोतले जानकारी दिएको छ ।
लोकसेवा आयोगको सदस्य हुन आवश्यक पर्ने योग्यता र अनुभवविपरीत शर्माले आफ्नी बुहारीलाई बलपूर्वक नियुक्ति दिलाएका थिए । आजको राजधानी दैनिकमा खवर छ ।