Logo

निश्चल र स्वस्तिमामाथि चोरीको आरोप



८ कार्तिकबाट देशव्यापी प्रदर्शनमा आउन लागेको निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का अभिनीत चलचित्र ‘घामड शेरे’ को ट्रेलर सार्वजनिक भएपछि चलचित्रले चोरीको आरोप खेप्नु परेको छ । सामाजिक सञ्जालमा “घामड शेरे” लाई “ओ माई गड” को कथा वस्तु चोरीको आरोप लागेको हो ।

बलिउड चलचित्र “ओ माई गड” मा भगवानलाई र “घामड शेरे” मा खोलालाई मुद्धा हाल्ने विषयवस्तुमा कुनै अन्तर नभएको ट्रेलर हेर्ने दर्शकहरुले विभिन्न किसिमका चोरीको टिका–टिप्पणी गरेका छन् । चलचित्र निर्देशक हेमराज विसीले यो विषयमा बोल्दै कथावस्तु “ओ माई गड” सँग नमिल्ने दाबी गरेका छन् । उनले चलचित्रको कथाको खाका “होस्टेल” अगाडि नै तयार गरेको र त्यती बेला “ओ माई गड” प्रदर्शनमा नआएको पनि उल्लेख गरेका छन् ।

ट्रेलर हेरेर मात्र चलचित्रको कथावस्तु थाहा नहुने र चलचित्र प्रदर्शनमा आएपछि दर्शकहरुले कथावस्तु विल्कुलै फरक पाउँने निर्देशकले जनाएका छन् । अभिनेता निश्चलले पनि चलचित्रको कथा सुन्दा आफ्नो दिमागमा “ओ माई गड” को सम्झना आएर निर्देशक हेमराजलाई भनेको तर चलचित्रको स्क्रिप्ट पढ्दा कथावस्तु बेग्लै पाएको जनाए ।

निर्देशक हेमराजले दर्शकलाई झुक्याउन नसक्ने र कपी नै गर्नुपरे आधिकारिक रुपमा राइट्स लिएरै गर्ने जनाएका छन् । आफ्नै जन्मथलो सुर्खेतमा चलचित्र खिचेका निर्देशक विसीले चलचित्रको कथावस्तु पनि सुर्खेतको आसपासमा घटेको एउटा घटनासँग नजिक भएर बनेको स्पष्टिकरण दिएका छन् । Photo Source: Canadanepal



प्रतिक्रिया दिनुहोस्