Logo

हाम्रो देशका सभामुख कारबाहीमा पर्दा विदेशीले विज्ञप्ति निकाल्ने !- लेखनाथ न्यौपाने, नेकपा नेता



काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका नेता लेखनाथ न्यौपानेसँग विद्यार्थी राजनीति देखिको लामो अनुभव छ । बौद्धिक नेताको परिचय बनाएका न्यौपानेसँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलाले गरेको विशेष कुराकानीः

देशको राजनीतिक घटनाक्रम कसरी अगाडि बढिरहेको छ ?
देश राम्रोसँग चलिरहेको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले जनचाहनाअनुसार काम गरेको छ ?
चनताको अपेक्षालाई हामीले नै धेरै चु्ल्याउने काम भएको अवस्थामा केपी ओली नेतृत्वमा सरकार बनेको हो । यसमा हाम्रो काम गर्ने शैली, ढंग र संरचनाहरु परम्परागत छन् । त्यो जनचाहना चुलिएको अपेक्षासँग बाँझिएका छन् ।
त्यसलाई व्यवस्थापन गर्न अहिलेको नेतृत्व सफल कि असफल ?
त्यसलाई पुरा गर्नका निम्ति काम गर्ने नयाँ शैली र संरचनाहरु आवश्यक छ । परम्परागत सोच र शैलीबाट अगाडि बढेर यो चुलिएको अपेक्षालाई सम्बोधन गर्न जो– कोही आएपनि पुरा सक्दैन भन्ने मेरो बुझाईं हो ।
यो नेतृत्वले जनचाहनाअनुसार काम गर्न सकेको छैन भन्ने तपाईंको भनाइ हो ?
यो सरकारले जनअपेक्षाकृत काम गर्न नसकेको कुरा स्थापित भैसेको छ । तर, काम नसक्नाका कारण फेरि मैले बताएको छु ।
पुराना शैली र ढर्राले मुलुकमा प्रगति हुँदैन भन्ने तपाईंको निष्कर्ष हो ?
अपेक्षाकृत काम नसक्नुको मुख्य कारण भनेको हामी राजनीति गर्ने नेताहरुमा काम गर्ने तरिका पुरानो भएर हो । २०४६ अगाडिको राजतन्त्रत्मक व्यवस्थामा जुन तरिका र ढर्राले काम गरिन्थ्यो अहिले गणतन्त्र आइसक्दा पनि हामी त्यसैलाई आधार बनाएर काम गरिरहेका छौं । त्यसकारण जनताको आवश्यकतालाई सम्बोधन गर्न सकिएको छैन । दोस्रो जनअपेक्षा पूर्ति गर्ने सेवा तरिका हिजोभन्दा कत्ति पनि परिवर्तन भएन । हिजोकोभन्दा सस्तो र गतिशील हुनुपर्नेमा झन् महंगो भयो । तेस्रो कुरा सेवा दिने सरकारको महत्वपूर्ण अंग ब्यूरोक्र्यासी हो । त्यो राणाकालीन ढर्रा र शैलीभन्दा माथि उठ्नै सकेन । अहिलेको परिवर्तित व्यवस्थासँग पटक्कै मेला खाँदैन । त्यसैले कर्मचारीतन्त्र जसलाई स्थायी सरकार भनिन्छन्, त्यसको सोचमा परिवर्तन नभएसम्म अहिलेको चुलिएको अनअपेक्षा पूर्ति हुँदैन ।
अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि बढेको हो ?
पछिल्लो समय छिमेकी राष्ट्रहरुसँगको अन्तर्राष्ट्रिय सम्बन्धलाई सकारात्मक ढंगले हेर्दा राम्रो भएको देखिएको छ । चीन र भारतलाई समेत जोडेर लाने भित्री सहयोगी हौं भनेर हाम्रा नेपालका प्रधानमन्त्रीले भन्नुभएको छ । त्यसलाई आगामी दिनहरुमा हेर्दा जानुपर्छ । त्यसैले यी भ्रमणहरुलाई धेरै नकारात्मक ढंले बुझ्नुहुँदैन भन्ने लाग्छ । तर, नेपालमा हुने विदेशीहरुको उपस्थिति नकारात्मक या सकारात्मक त्यो हेर्दै जाने कुरा हो । अहिले भएका जुन सम्बन्ध छन्, ती त्रिकोणात्मक देखिएको छ । यो त्रिकोणात्मक सम्बन्धमा साना–साना कुरामा पनि बढी चासो राख्ने काम हुन्छ भन्ने लाग्छ । त्यसलाई कसरीे लिने भन्ने चासोतिर हामी लागेका छैनौं । हाम्रो देशका सभामुख एउटामा कारबाहीमा पर्नुभयो, विदेशीहरुले वक्तव्यवाजी गरेर त्यसको विरोध गर्दछन् । त्यो हाम्रो आन्तरिक कारण हो त्यसको हामीले कारबाही प्रक्रिया अगाडि बढाइसकेका छौं, तर त्यसमा उनीहरुले किन वक्तव्य निकालेका होलान् ? भन्नेतिर सोच्ने र आउने दिनमा आन्तरिक मामलामा हामी कसरी सार्वभौम, स्वतन्त्रतातिर लाग्छौं भन्ने हाम्रो सोचनाइ कम भएको जस्तो लाग्छ ।
देशको आन्तरिक व्यवस्थापन राम्रो भयो भने अन्तर्राष्ट्रिय सम्बन्ध पनि राम्रो हुन्छ हो ?
हो, हामीले अन्तर्राष्ट्रिय सम्बन्धलाई बलियो बनाउन पहिला आन्तरिक व्यवस्थापन गर्न जरुरी छ ।
२०६२/६३ पछि प्राप्त गणतन्त्र, लोकतन्त्र बँचाउन युवा वर्ग जुटेको हो ?
यसमा परम्परागत सिस्टमले अहिलेको व्यवस्थामा काम गरेन भन्ने मेरो विश्लेषण हो । जनअपेक्षाअनुसार काम गर्न नसकेको, सेवासुविधा डेलिभरी गर्न नसकेको र सन्तुलित परराष्ट्रनीति कायम गर्न नसकेको र सार्वभौम स्थितिमा पनि हामी कहिलेकांही डगमगाउने परम्परागत शैलीकै कारण हो । जसरी अहिले जनताको अपेक्षाहरु चुलिएका छन्, त्यसलाई मेनेज गर्न कर्मचारीतन्त्रदेखि राज्यसत्तासम्म परिवर्तन गर्न सकेनौं भने जतिसुकै साधन, स्रोतको परिचालन गरेपनि त्यसबाट परिणाम दिन सक्दैनौं भन्ने मेरो भनाइ हो । त्यसैले यसलाई संस्थागत गर्न लाग्नुपर्छ ।
हाम्रो देशको प्राप्त उपलब्धीलाई संस्थागत गर्न यो तरिबाट तपाईं सन्तुष्ट हुनुहुन्न हो ?
हिजोको भन्दा आजको संघीय लोकतान्त्रिक गणतन्त्र प्रगतिशील प्रणाली हो । त्यसकारण यसलाई अन्यथा ठान्ने कुरा भएन । तर, यसका अवयवहरुले काम गरेनन् भने संघीय लोकतान्त्रिक गणतन्त्रले केही गर्न सक्दैन । त्यसकारण यो व्यवस्थाअन्तर्गत राजनीतिनेतृत्व, सरकार, प्रशासन, न्यायालय, जनता, समग्र संस्कृति, अर्थनीतिहरु कस्तो हुने हो ? त्यो अर्थनीतिले आयातलाई घटनाएर निर्यात बढाउने हो कि होइन ? यसबाट जनताले सहजता अनुभूति गरेका छन् कि छैनन्, जनता आर्थिक गतिविधिमा संलग्नता हुने पाएका छन् कि छैनन् भन्ने गतिविधिले समग्रह लोकतन्त्रबाट सन्तुष्ट भएका छन् कि छैनन् भन्ने विषयवस्तु यसमा हुन्छ । यही नै मेरो बुझाइ हो ।
तपाईंको पार्टीको कुरा गर्दा पछिल्लो समय जबजमा गएको छ हो ?
पहिलो कुरा दुईपार्टीबीच एकता भयो, त्यो प्रक्रिया साढेएकवर्ष हुँदा पनि टुंगिएको छैन । यो आपैmमा हाम्रो पार्टीमाथिको प्रश्न हो, भन्ने म ठान्दछु । यतिलामो समयसम्म पार्टी एकताको प्रक्रियाहरु टुंग्याउन नसक्नुमा लिडरहरुको कार्यक्षमता प्रस्टिएको छ । यो कार्यक्षमता भएको नेतृत्वको सरकारले देशमा सुशासनसहित समृद्धि ल्याउने कुरा आपैmमा अन्तरविरोधी हो भन्ने बुझ्नुपर्छ । आफ्नै पार्टी एकताका कुरा त मिलाउन सक्दैनौ अरु धेरै ठूला कुरा किन गर्छौं भन्ने कुरा सामान्य जनस्थरबाट पनि उठ्न सक्छ भन्ने एउटा । दोस्रो हामीले एकता किन गरेको हो भन्ने कुरालाई पुष्टि गर्ने आधार निर्माण गर्न सकेनौं । एकता चाहीं पावरमा पुगेर इन्जोइ गर्न र आफ्नाका निम्ति पावर सेयरिङ गर्नका लागि गरेको देखिन्छ । यसमा हामी छुट्टाछुट्टै लड्दा अरुले लौजनेभए, त्यसैले एकता गरेर लड्ने र जितेर इन्जोय गर्ने भनेर गरिएको एकता हो भनेर सर्वसाधरणसम्म पुगिसकेको छ । मैले बुझेको त्योभन्दा अर्को कारण छ, एकताको । त्यतातिर यो एकतालाई प्रवेशै गराइएन त्यसैले भद्रगोल भइराखेको छ । त्यसकारण सबभन्दा पहिला हामीले एकता किन गरेको भनेर प्रमाणित गर्नुपर्छ । त्यसको लागि पार्टीका सबै संरचनालाई व्यवस्थित बनाएर संगठनलाई बझ्बुद बनाउनपर्छ । महाधिवेशनमा गर्ने बहस अनौपचारिक हुन्छ, त्यो औपचारिकताबाट मात्रै पार्टी एकता सुदृढ हुँदैन ।
पार्टीको नीति र नेतृत्वमा पनि छलफल सुरु हुनुपर्छ भन्ने तपाईंको भनाइ हो ?
अहिले नै नेतृत्वका बारेमा बहस, छलफल हुनुपर्छ भन्दा हाम्रा पार्टी अध्यक्ष, नेता र मन्त्रीहरुले हामी हटाउनका लागि भनेको भनेर बुझ्ने संकीर्ण सोचाइहरु छन्, त्यतातिर जान चाहन्न । तर, आजीवन एउटै पात्र, एउटै मान्छे र पुस्ताले नेतृत्व गरिराख्ने प्रवृत्ति विज्ञान विरोध विषयवस्तु हो भन्ने कुरा दृढतापूर्वक मैले राख्ने गरेको छु, आज पनि राख्छु ।
तपाईंको पार्टीभित्र पनि केपी ओला र प्रचण्डकै हालीमुहाली छ नि ?
त्यसरी केपी ओली र प्रचण्ड मात्रै नेकपा हो भनेर बुझियो भने यो सामन्ती तरिका हो । त्यसले पार्टी बन्दैन, कम्युनिस्ट पार्टी त झन् बन्दैबन्दैन । त्यसकारण केपी ओली र प्रचण्डमात्रै नेकपा होइनन्, उहाँहरुदेखि सर्वसाधारण जनता र अन्तर्राष्ट्रिय समुदायसमेत छन्, भनेर बुझ्नु्पर्छ । त्यसो हुनाले पार्टी भनेको चेन अफ कमान्ड, निर्णयप्रक्रिया, समाजमा भएका विभिन्न वर्गहरुमध्ये कुन वर्गको उत्थान गर्ने हो भन्ने विषयवस्तु एकिन गरेर त्यो वर्गको मुक्तिका निम्ति काम गर्ने एउटा माध्यम हो भनेर हामीले बुझेका छौं । यही विषयवस्तुलाई सही बाटोमा हिडाउन बहस, छलफल गर्ने र बाहिर जनतासम्म बाहिर देखिएजस्तो भित्र मिलेको छैन भन्ने स्थितिमा हामी पुगेका छौं ।
सरकार सञ्चालमा आलोपालोको विषयलाई लिएर प्रचण्ड आक्रोसित हुनुभएको छ नि ?
हाम्रो पार्टी एकता देशमा राजनीतिक स्थायित्वका निम्ति गरिएको हो । जहिले पनि सरकार पाँच वर्षसम्म चल्ने अस्थिरताबाट विगतमा हामी हैरान भएका थियौं । त्यो स्थितिको अन्त्य यो एकताले हुन्छ भनेका थियौं । त्यसैको जगबाट हामीले यो लोकप्रिय प्राप्त गरेका हौं । पार्टी एकताका कुरा त्यसभित्र बसेर गर्न सकिन्छ । तर, सरकार सञ्चालन र पार्टी सञ्चालन गर्न एउटाले पार्टी चलाउने अर्कोले सरकार चलाउने भन्ने हाम्रो सुझाव हो । के–के कुरामा सहमति भयो, उहाँहरु दुईजनाले जान्ने कुरा हो । पार्टीमा औपचारिक ढंगले त्यो जानकारी पनि भएको छैन । तर, पार्टीको एउटा कार्यकर्ता हुनुको नाताले आलोपालोको समझदारी भएको छ भने त्यसलाई कार्यान्वयन गर्नुहोस्, त्यसले मात्रै एकतालाई बलियो बनाउँछ । दोस्रो कुरा नेतृत्व गर्ने दुईवटा बाघहरु छन्, त्यसमा एउटाले एउटा पक्षको र अर्को अर्कोपक्षको नेतृत्व गर्नुहोस् । त्योसले कार्यसम्पादन पनि राम्रो हुन्छ, नेतृत्वक्षमता पनि बजभुत हुन्छ र पार्टी एकतालाई पनि बलियो बनाउँछ ।
त्यसो भए प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्षको जिम्मा प्रचण्डको एकल नेतृत्वमा हुनुपर्छ भन्ने तपाईंको निष्कर्ष हो ?
हो, नत्र पार्टी एकता गर्ने अनि एकैजनाले दुई–दुईवटा पद लिने गरेर दोहोरो पद गुरुहरुले पनि लिँदैजाने अन्य मान्छेले काम नपाउने हो भने ंयसलाई पार्टीको विधि मानिँदैन । त्यसैले पार्टीलाई विधि र प्रक्रियामा चलाउनुपर्छ । त्यो विधिभित्र सबै मान्छे छिर्नुपर्छ । पार्टीभन्दा माथि कोही पनि हुन सक्दैन । अहिलेको अवस्थामा दुईजना लिडर हुनुहुन्छ भने त्यसमा जुँगाको लडाँइँ गर्न मिल्दैन । पार्टीलाई राम्रोसँग अगाडि बढाउने, समाजवादमा जाने हो, एकतालाई बलियो बनाएर वैचारिक बहसमा जाने हो भने विधिभित्र सबैलाई छिराउनुपर्छ । त्यसको लागि एकजनाले सरकार र अर्को पार्टीको नेतृत्व गर्ने हो । सरकार महत्वपूर्ण हो कि पार्टी दुईजनाले छलफल गर्नुहोस् ।
केपी ओलीले त माधव नेपाल हुँदा पनि बस्नुभएको हो, म पनि दुईपदमा बस्छु भन्नुभएको छ नि ?
होइन, यसमा तर्कका लागि तर्क गर्ने, समस्या हल गर्नका लागि अगाडि नबढ्ने हो भने हामीले पार्टी एकतालाई पुष्टि गर्न सक्दैनौं । त्यसो हुनाले अहिले नै धेरै आलोचना गर्ने कुरा पनि भएन । समस्या समाधानका लागि नेतृत्वले कुरा बुझ्नुपर्छ, त्यसकारण केपी हमरेडले एउटा पद छोड्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्