काठमाडौं, ४ कात्तिक । राष्ट्रिय मानवअधिकार आयोगले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही इञ्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिई हत्या गरेको निष्कर्ष निकाल्दै तीन लाख रुपैयाँ क्षतिपूर्तिको सिफारिश गरेको छ । आयोगले सोमबार घटनामा दोहोरो मुठभेड नभई हत्या भएको भन्दै पौडेलको बाँच्न पाउने अधिकार हनन भएको उल्लेख गरेको छ ।
आयोगले भनेको छ, ‘घटनामा मृत्यु भएका कुमार पौडेलको बाँच्न पाउने अधिकारको हनन भएको देखिएकोले निजको कानून बमोजिमको हकवालालाई राष्ट्रिय मानव अधिकार ऐन, २०६८ को प्रावधान अनुरुप रु तीन लाख क्षतिपूर्ति उपलव्ध गराउन सिफारिश गर्दछ ।’ आयोगको सिफारिश अनुसार भएमा सरकारले पौडेलकी पत्नीलाई क्षतिपूर्तिवापत् तीन लाख दिनुपर्नेछ ।