Logo

भूमाफियाले वन सखाप पारेर प्लटिङ गर्न थालेपछि वन्यजन्तु वस्ती पसे



रिपोर्टर्स नेपाल, ५ कात्तिक । ललितपुरको शंखादेवी क्षेत्रमा दुर्लभ वन्यजस्तु सालक गाउँमा भेटियो । यस क्षेत्रमा शालिक रहेको जानकारी रहेपनि यसरी गाउँभित्र पस्दैनथियो । पछिल्लो समय उक्त क्षेत्रमा दुर्लभ वन्यजन्तु गाउँमा पस्न थालेका छन् ।

वन क्षेत्रमा धेरै व्यक्गित जग्गा रहेको र त्यसलाई विक्री गर्दै प्लटिङ गर्न थालेपछि वन्यजन्तु संकटमा पर्न थालेका छन् । शंखादेवी र विशंखुनारायण क्षेत्रमा ललितघुम्तीका लागि ट्रयाक खोलेपछि भूमाफियाको आँखा गएको छ । त्यस क्षेत्रमा धमाधम प्लटिङ हुनथालेको छ । ललितघुम्तीलाई समेत प्रभावित पारेर प्लटिङ भएपछि उजूरी गर्दा समेत जनप्रतिनिधिले खासै चासो देखाएका छैनन् ।

व्यक्तिगत जग्गामा केही गर्न नसकिने उनीहरुको भनाई रहने गरेको छ । वन क्षेत्र व्यक्गित भएपनि नास्न पाइँदैन । रुख काट्न पनि अनुमति लिनुपर्ने नियम छ । तर, रुख सबै काटेर धमाधम डोजर लगाउन थालिएको छ । यसलाई देख्दा पनि जनप्रतिनिधिले वास्ता नगर्नुमा भूमाफियाबाट प्रभावित भएको बुझ्न सकिन्छ ।

महालक्ष्मी नगरपालिका ८ का वडाध्यक्ष विश्वराज श्रेष्ठ प्लटिङ भइरहेको व्यक्गित वनको क्षेत्र गोदावरी नगरपालिकामा पर्ने बताउँछन् । आफूले उक्त क्षेत्रको अवलोकन गरेर गोदावरी नगरपालिकालाई जानकारी गराएको उनको भनाई छ । जङ्गल माँसिएको उक्त क्षेत्र पर्ने गोदावरी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हरिहर कार्की पनि व्यक्गित जग्गामा बोल्न नसकिने बताउँछन् । तर, आफूले कुनै अनुमति नदिएको बताउँछन् ।

ललितघुम्ती वरपरका हरियो वन धमाधम फँडानी गरी प्लटिङ भइरहेकोबारे प्रमुख जिल्ला अधिकारी भगिरथी पाण्डेय, ललितपुरका एसएसपी टेक राईलगायत जिम्मेवारी अधिकारीहरुसमक्ष जानकारी पुगिसकेको छ । उनीहरुले रोक्न निर्देशन दिंदा पनि डोजर लगाएर धमाधम माटो झिक्न छाडिएको छैन । यसले सम्बन्धित अधिकारीहरुको भूमिकामाथि समेत स्थानीयवासीले शंका व्यक्त गरेका छन् ।

महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ वन संकटमा परेपछि वन्यजन्तु वस्तीमा पस्न थालेकोमा चिन्ता व्यक्त गर्छन् । उनी भन्छन्- यस विषयमा नगरपालिका गम्भीर छ कानुनबमोजिम कारबाहीमा अगाडि बढ्छ ।

जिल्ला वन कार्यालयले उक्त क्षेत्रमा रुख काटिएको जानकारी पाएपछि कारबाही प्रक्रिया बढाएको थियो । तर, त्यसपछि उसले पनि आँखा चिम्लिएको छ । भूमाफियाले जनप्रतिनिधिलाई समेत प्रभावित पारेर गतिविधि संचालन गर्न थालेका छन् । त्यस क्षेत्रमा गुण्डा परिचालन गर्न थालिएको छ । विरोध गर्नेलाई डरधम्की देखाउन थालेपछि कुनैपनि बेला झडपको स्थिति हुने देखिएको जानकारी प्राप्त भएको छ ।

देशभर जनप्रतिनिधिहरु स्रोतको जथाभावी दोहनमा प्रत्यक्ष अप्रत्यक्ष संलग्न भएको खबरहरु आइरहँदा ललितपुर जिल्लाका जनप्रतिनिधिहरुले जिम्मेवारी भुलेर गलत गतिविधिलाई प्रश्रय दिन थालेका छन् । स्थानीयवासीले जनप्रतिनिधिले ब्रम्हलुट गरिरहेको गुनासो गर्न थालेका छन् । असन्तुष्टि र आक्रोशले कुनैपनि बेला बिष्फोटक रुप लिन सक्ने अवस्था बन्न थालेको छ ।

तस्बिरहरुः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्