Logo

विभिन्न लागुऔध सहित प्रहरी नियन्त्रणमा



नवलपरासी (पूर्व),५ कात्तिक । विभिन्न लागुऔषध सहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । कावासोती नगरपालिका १६ तिनघरेस्थित पूर्वपश्चिम राजमार्गबाट नियन्त्रित लागूऔषध नुर्फिन ४१ एम्पुल, फेनारागन ४१ एम्पुल र डाईजेपाम ४१ एम्पुल सहित ४ कात्तिकको साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । चितवन भरतपुर महानगरपालिका २५ बस्ने पवन बोटे र अंकित महत्तोलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको ना.६ ख ४२०९ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुको साथमा उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

सुनसरी, ईटहरी उपमहानगरपालिका ११ छोटीपुलबाट नियन्त्रित लागुऔषध नाईट्राभेट ८ ट्याब्लेट, इनपेन ३ क्याप्सुल र स्पास्मो ३ ट्याब्लेट सहित मोरङ बुढिगंगा गाउँपालिका ७ बस्न राहुल उराउ र मोरङ सुन्दरहरैचा नगरपालिका ३ बस्ने सुमन मोक्तानलाई ४ कात्तिकको साँझ प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी खनारबाट खटिएको प्रहरीले को.३४ प ६२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक राहुल र मोटरसाइकलमा सवार सुमनको साथमा उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो ।

अनुसन्धानको क्रममा उक्त लागूऔषध ईटहरी उपमहानगरपालिका १० स्थित सोही ठाउँ आमझुकि बस्ने उमेश चौधरीको बिर नारायण मेडिकलबाट खरिद गरेको भन्ने खुल्न आएको हुँदा उक्त मेडिकलमा तलासी गर्दा नियन्त्रित लागूऔषध स्पास्मो ८ सय ५८ ट्याब्लेट फेला पारी उमेशलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, रुकुम (पूर्व), पुथाउत्तरगंगा गाउँपालिका १२ गरखानी बस्ने शिला सुनारलाई अवैध लागूऔषध चरेश पाँच केजी सहित ४ कात्तिकको दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले शिलालाई सोही ठाउँस्थित क्युवाड्गमा उक्त लागूऔषध सहित फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्