काठमाडौं, ५ कात्तिक । ओमनमा काम गर्ने नेपाली कामदारहरूलाई लक्षित गरेर नेपाली राजदूतावास, मस्कटले मिति हालै लुलु कम्पनीमा एक श्रमिक सचेतना तथा साँगीतिक कार्यक्रम “परदेशमा घरदेश” आयोजना गरेको छ ।
विदेशी भूमिमा रहने हुने श्रमिकहरूमा सकारात्मक सोचको विकास गर्न र उनीहरूलाई मानसिक तथा सामाजिक रूपमा एक्लो हुन नदिन तथा सम्भावित भवितव्य (आत्महत्या) र कुलतहरूबाट बच्न सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको राजदुत शर्मिला पराजुलीले जानकारी दिईन् ।
दुतावासले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।उक्त कार्यक्रम नेपालको इमल इभेन्टससँगको सहकार्यमा आयोजना गरिएको थियो। कार्यक्रममा नेपाली राजदूतावासका द्वितीय सचिव श्री सोमेश थापाले उपस्थित सबैलाई स्वागत गर्दै गएको बडादशैं तथा आउँदो छठ पर्व तथा नेपाल सम्वत् ११४० को अवसरमा सबैलाई शुभकामना प्रदान गर्दै नेपाली राजदूतावास सबैको लागि अभिभावककोरूपमा रहेको जानकारी गराउनुभयो।’
कार्यक्रममा दूतावासकी श्रम सहचारी श्री कृष्णा कुमारी गौलीले श्रमिकहरूले थाहा पाउनुपर्ने विविध पक्षहरू तथा नेपाली राजदूतावासले प्रदान गर्ने सेवा सम्बन्धी विविध जानकारीहरूको सम्बन्धमा आफ्नो प्रस्तुति दिएकी थिईन् । सकारात्मक वक्ता बिष्णु दाहालले श्रमिकहरूलाई परदेशमा रहेर पनि आफुलाई कसरी बिरानो महसुस हुन नदिने तथा अन्य मनोबैज्ञानिक समस्या तथा निवारणका उपाय सम्बन्धी आफ्नो प्रस्तुति दिएका थिए ।
कार्यक्रममा गायकद्वय श्री सत्यराज आचार्य तथा स्वरूपराज आचार्यले विविध साँगीतिक प्रस्तुति मार्फत करीब एक घन्टा उपस्थित श्रमिकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । उपस्थित श्रमिकहरूले उक्त कार्यक्रम लिएर आएकोमा नेपाली राजदूतावास मस्कटप्रति आभार प्रकट गरेका थिए ।
उक्त कार्यक्रममा लुलुको प्रतिनिधि, नेपाली राजदूतावासका कर्मचारीहरू तथा इमल इभेन्ट्सका पदाधिकारीहरू समेत गरी २०० भन्दा बढीको सहभागिता रहेको दुतावासले जनाएको छ । दुतावासले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्बता जाहेर गरेको छ ।