Logo

उपनिर्वाचनको तयारीमा दलहरु



संखुवासभा, ७ कात्तिक । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि दलहरुले राजनीतिक गतिविधि तीव्र पारेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रिक्त विभन्न पदका लागि उपनिर्वाचन हुने भएपछि दलहरू उम्मेदवार छान्न थालेका छन् ।

मकालु गाउँपालिकाको अध्यक्ष पद तथा खाँदबारी नगरपालिका–३ को वडाध्यक्ष पद रिक्त छ । मकालुका अध्यक्ष खड्गबहादुर कटुवालको २०७४ माघ २९ गते दुर्घटनामा परी निधन भएको थियो । खाँदबारी–३ का वडाध्यक्ष तोयानाथ ढुङ्गानाको २०७४ फागुन १३ गते हृदयघातबाट निधन भएको थियो । अहिले मकालु गाउँपालिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष चमेली राईले तथा खाँदबारी–३ को वडाध्यक्षको कार्यभार ज्येष्ठ सदस्य देवराज घिमिरेले सम्हालेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले आसन्न उपनिर्वाचनका लागि खाँदबारी–३ को वडाध्यक्षमा वडा कमिटीको बैठकले मङ्गलबार सर्वसम्मत भरत घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको वडा समितिका अध्यक्ष भानु पराजुलीले जानकारी दिए । नौ जनाको नाम आएपनि घिमिरेको नाममा सहमति जुटेको उनले बताउनुभयो । समितिले घिमिरेको नाम नगर हुँदै जिल्लामा पठाउने भएको छ ।

नेपाली काङ्ग्रेसले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । नाम टुङ्गो लगाउन छलफल भइरहेको पार्टीका जिल्ला सभापति दीपनकुमार श्रेष्ठले जानकारी दिनुभयो । वडाध्यक्षमा यसअघि तत्कालीन नेकपा एमालेले जितेको थियो । मुख्यतया यहाँ नेकपा र काङ्ग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने बताइएको छ । काङ्ग्रेसबाट बाबुराम खत्री, डिल्ली श्रेष्ठ, राजकुमार श्रेष्ठ, बालकुमार घिमिरेलगायतको चर्चा छ । वडा नं ३ मा एक हजार ८२२ मतदाता छन् ।

मकालुको अध्यक्षमा तत्कालीन नेकपा एमालेका कटुवालले काङ्ग्रेसका राईबहादुर राईलाई हराएका थिए । मकालुमा नेकपा र काङ्ग्रेसलाई अध्यक्षको उम्मेदवार छान्न सकस भएको छ । नेकपाले अध्यक्षको नाम कात्तिक १५ गतेको जिल्ला कमिटीको बैठकमा टुङ्गो लगाउने नेकपाका पार्टी सचिव कृष्ण जिमीले जानकारी दिनुभयो । दलहरूले कार्यकर्ता भेटघाट र घरदैलो अभियान गर्न थालेका छन् ।

मकालुमा पनि नेकपा र काङ्ग्रेसबीच नै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । मकालुमा नौ हजार एक मतदाता छन् । नेकपाबाट तेजबहादुर पोख्रेल, भरत कटुवाल, ताराकुमार गुरुङ, भीम राईलगायतको चर्चा छ भने काङ्ग्रेसबाट रामबहादुर राई, राईमान राई, काजीमान गुरुङ, देउमान राई, विमल पराजुलीलगायतको चर्चा छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot