काठमाडौं, कार्तिक ८ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विप्लव समूहका जिल्ला सेक्रेटरीसहित तीन जनालाई पक्राउ गरेको छ।बुधबार मध्यरातमा प्रहरीले गरेको अप्रेसनमा सेक्रेटरी र अन्य दुई कार्यकर्तालाई फरकफरक स्थानबाट पक्राउ गरेको हो।
जिल्लाको विकट गाउँपालिका खानीखोलाबाट केन्द्रीय नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित ८ जना नेता पक्राउ परेपछिको सबैभन्दा ठूलो नेता जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको हो।
प्रहरीद्वारा समातिएकी सुन्तली सशस्त्र युद्धका क्रममा १३ वर्षको उमेरदेखि भूमिगत भएकी थिइन्।साविक साल्मेचाकल घर भई जनविकास माविको कक्षा ७ मा अध्ययन गर्दागर्दै उनका सहपाठी साइला तामाङलाई २०५९ सालमा प्रहरीले पक्राउ गरी गोली ठोकेर मारेपछि उनी अखिल क्रान्तिकारीको राजनीतिबाट भूमिगत भइन्।
७ छोरी र २ छोरामध्ये उनी साइली छोरी थिइन्। सुन्तली भन्दाअघि उनकै ठूलोबुबाको छोरी रमिता थोकर माओवादीमा सक्रिय थिइन्। अभियानकै क्रममा उनको निधन भएको थियो।हाल बागमती गाउँपालिकाका अध्यक्ष रहेका मधु तामाङले सुन्तलीलगायतलाई पार्टीमा प्रवेश गराएका थिए।
निरन्तर पार्टीका विभिन्न पदमा रहेर योगदान पुर्याएकी सुन्तलीले शान्ति प्रक्रियासँगै कोसीपारिको जागृति माविबाट १२ कक्षा अध्ययन सकेर हाल ब्याचलर तहको अध्ययन गरिरहेकी थिइन्।
शान्ति प्रक्रियामा जिल्ला विकास समितिको सहयोगमा महिला एकता तथा रूपान्तरण अभियानअन्तर्गत सामाजिक अभियानमा रहेर काम गरेकी थिइन्।
ताल्ढुंगमा रहेको नेपाल टेलिकमको टावर निर्माणमा उपभोेक्ता समितिमा रहेर समेत काम गरेकी थिइन्। युद्धका क्रममा ९ महिनाजति सेनामा रहेर सक्रिय भइन्।
२०६९ सालसम्म उनी जिल्ला सचिवालय सदस्य हुँदै ब्युरो सदस्य, ताम्सालिङ क्षेत्र सदस्य, तामाङ मुक्ति मोर्चाको केन्द्रीय सदस्य, अनेमसंघ क्रान्तिकारीको केन्द्रीय सदस्य, ताम्सालिङ स्वायत्त प्रदेशको सदस्य थिइन्।
केही समय बिरामी भएकाले पार्टी काममा सक्रिय हुँदाहुँदै उनी जिल्लाबाहिर थिइन्। लामो समय घरबाहिर रहेकाले अस्थायी बसोबास गरिरहेको स्थान पनौती–९ नौबिसेमा बसिरहेका बुबाआमालाई भेट्न घरमा आएका बखत प्रहरीको टोलीले पक्राउ गरेको हो।
उनको परिवार भूकम्पले गाउँमा घर भत्काएपछि त्यहीं बस्दै आएको छ। सुन्तली ६ वर्षदेखि विप्लव समूहमा क्रियाशील थिइन्। आजको नेपाल समाचारपत्रले खवर छापेको छ ।