काठमाडौं, कार्तिक ८ । नेपालमा स्थिर सरकार बनेपछि पहिलोपटक व्यवसाय गर्ने वातावरणमा सुधार आएको एक अध्ययनले देखाएको छ। विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ‘डुइङ बिजनेस इन्डेक्स’मा नेपालको अवस्था सुधार भएको हो।
बैंकका अनुसार गत वर्षभन्दा यो वर्ष नेपालको सूचक १६ स्थान माथि उक्लेकोे छ। ‘डुइङ बिजनेस इन्डेक्स’मा नेपाल ९४औं स्थानमा आएको छ। अघिल्लो वर्ष नेपाल ११०औं स्थानमा थियो।
बैंकले हरेक वर्ष अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गर्छ। बैंकले सन् २०१८ मेदेखि २०१९ मेसम्मको अध्ययनलाई आधार बनाएर यो प्रतिवेदन तयार गरेको हो।
‘डुइङ बिजनेस इन्डेक्स’मा भएको सुधार सकारात्मक भए पनि सुधार गर्नुपर्ने पक्ष अझै बाँकी रहेको निजी क्षेत्र र अर्थशास्त्रीले बताएका छन्।
निर्माण अनुमतिका लागि दिने प्रक्रियामा सुधार भएको, अन्तरदेशीय व्यापार, ठेक्का सम्झौता प्रक्रिया, ई–बिडिङले सूचकमा सुधार भएको बैंकले सर्वाजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी कर्जा प्रणाली तथा सूचना दिने संयन्त्र र पहुँच स्थापित, एकीकृत भन्सार चेक पोस्ट सुरु गरेपछि आयात, निर्यातमा समय र लागत बचत भएको देखिएको छ।
यो वर्ष नेपालको सबैभन्दा राम्रो सुधार ऋण प्रवाहमा छ। ऋण प्रवाहमा ९९औं स्थानमा रहेकोमा अहिले उल्लेख्य सुधार भई ३७औं स्थानमा आएको छ। आजको नागरिक दैनिकमा खवर छ ।