Logo

उपचारका नाममा यौन शोषण : टुल्कुले धेरैलाई दासी बनाएको थियो



काठमाडौं, कार्तिक ८ । उनको संस्कारमा मामाचेली फुपूचेलाबीच बिहेवारी चल्छ । संस्कारले दिएको यही सुविधाले उनीहरूको प्रेम फुलाउन सहयोग गर्‍यो । बाल्यकालमै खेलेका कैयन् ‘दुलाहादुलही’ खेलले प्रेममा उकेरा हाल्यो । घरपरिवार, स्कुल र खेतखोल्सामा समेत सँगसँगै हुने यो जोडी २०६१ मा एसएलसी पास गरेपछि काभ्रेको एक दुर्गम गाउँबाट सँगै काठमाडौं ओर्लिएको हो । प्लस टुको अध्ययन सक्दासम्म उनीहरू सँगसँगै भए ।
किशोरवयले छाड्दै गयो, भविष्यको चिन्ताले सताउन थाल्यो । युवक पढाइसँगै कमाइ गर्ने जिम्मेवारीको भारी बोकेर विदेश हानिए, युवतीले यतै स्नातकमा भर्ना भएर पढाइलाई निरन्तरता दिइन् । उनीहरूबीच युवती पनि विदेशै जाने कि युवक यता आउने भन्नेबारे छलफल चल्दै थियो ।
२०६६ जेठतिर परिस्थिति बदलियो, युवती एकाएक हराइन्न् । समस्या उति ठूलो होइन, उनको घाँटीमा दाद आएको थियो । त्यसले अनुहारकै सौन्दर्य बिगारिदियो भन्ने चिन्ताले पिरोल्यो । वैशाख–जेठको गर्मीमा पनि बाहिरतिर निस्किँदा सलले घाँटी छोप्न थालिन् । साथमा माइली दिदी थिइन्, जो उनलाई थोरै पनि दुःखी देख्न चाहन्नथिन् । एक दिन माइली दिदीले उनलाई काठमाडौं सरस्वतीनगरस्थित ‘गुरु’ को घर लिएर गइन्, जहाँ केही बिरामी पहिलेदेखि नै उपचार गराइरहेका थिए । बिरामीको बयान, घरको भव्यता र गुरुको सानसौकतले युवती प्रभावित भइन् । गुरुले ‘ओखती’ सुरु गरे । माइली दिदीले त्यसअघि नै एकपटक गुरुबाट उपचार गराइसकेकी रहिछन् । त्यसैले आफ्नो सामान्य समस्या चाँडै हल हुन्छ भन्नेमा उनी आश्वस्त थिइन् । सबैभन्दा धेरै माया गर्ने दिदी सँगै भएपछि गुरुमाथि पनि उनको विश्वासको धरहरा चुलिन थाल्यो ।
एक दिन ‘गुरु’ रिम्पोछे छोल्टिम दोर्जे योन्तान योञ्जन टुल्कु लामाले अप्रत्याशित घोषणा गरे, उपचारका लागि उनी गुरुसँगै बस्नुपर्ने भयो । १५ वर्षअघिसम्म ट्रेकिङ व्यवसाय गरेका सिन्धुलीका ज्ञानबहादुर लामा एकाएक गुरु रिम्पोछेका ‘बाह्रौं अवतार’ हुँ भन्दै धन्दा चलाउँथे । युवती सरस्वतीनगरको त्यो घरबाट गुरुले फर्पिङमा बनाएको पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बामा सर्ने भइन् । जुन गुम्बा टुल्कुले भक्तजनलाई त्रासमा पारेर लिएको दान, भेटी र चन्दाको रकमबाट बनाएका थिए । २०६६ कै कुनै महिना जब उनी गुम्बामा पुगिन्, जिन्दगीको ‘कालरात्रि’ सुरु भयो र निरन्तर ९ वर्षसम्म चल्यो । ‘जब मेरो वरिपरि गुरु हुन्थ्यो, म अरू केही पनि देख्न सक्दिनथेँ, उसले जे चाह्यो, त्यही नै हुन्थ्यो,’ उनको अनुहारमा पीडा र आक्रोश सँगै पोखियो । युवतीका अनुसार गुरुले उनीबाट सबैभन्दा धेरै चाहने ‘यौन’ नै थियो । जब उसले चाहन्थ्यो, उही अँध्यारो कोठाभित्र छिराउँथ्यो, अन्धाधुन्ध के–के गर्थ्यो, गर्थ्यो । ‘म सम्झिनै चाहन्नँ,’ उनी भन्छिन् ।
गुम्बाको यातनाबाट बाहिर निस्किएको झन्डै २ वर्ष भइसक्दा उनले शोषणमा परेका ती वर्षहरू बिर्सिन सकेकी छैनन् । त्यसैले लामो समय टोलाउँछिन्, टोलाउँदा टोलाउँदै एक्कासि सपनाबाट ब्युँझेझैं झसङ्ग हुन्छिन् ।
उनले जिन्दगीको सबैभन्दा उर्वर हुनुपर्ने दशक बन्धक भएर बिताएकी थिइन् । त्यो बेला टुल्कुले उनलाई न गुम्बाबाट बाहिर निस्किन दियो, न त कसैसँग लामो कुरा गर्न नै । अरू पुरुषसँग बोल्न त झन् उनलाई शतप्रतिशत बन्देज थियो ।
खोल्सानिर गएर कहिले कसो बाआमा र दिदी भाइलाई भेट्थिन्, सन्चो सुबिस्ताको कुरा गर्थिन् । वर्षौंदेखिको उकुसमुकुस छिनछिनको भेटले के मेटिन्थ्यो र । त्यसमाथि भेटभरि टुल्कु सँगै हुन्थ्यो । खोल्साको ‘जक्सन’ बाट वारिपारि हुनेबित्तिकै छोरीकै पिरलोले हुरुक्कै हुन्थे बाआमा । उनले गुम्बाको त्यो बन्धनबाट उम्किनै नखोजेकी भने होइनन् तर उनको प्रयत्नभन्दा धेरै टुल्कुको धम्कीले काम गर्थ्यो । यो विषयमा बाहिर बोलेपछि अनिष्ट हुने, घरका सबैको मृत्यु हुने टुल्कुको त्रासका कारण उनी विश्वास गर्नुपर्ने अवस्थामा पुगिसकेकी थिइन् । टुल्कुले त उनलाई आफ्नो पूर्वजन्मकी पत्नी भएको र यो जन्ममा पनि अर्धा्ङ्गिनी नै हुनुपर्ने भन्दै आएको थियो । कतिपय मान्छेसँग टुल्कुले उनको परिचय यही हिसाबले गराइदिन्थ्यो । शरीर त टुल्कुकै बन्धनमा परिसकेको थियो, उसले जे–जे भन्थ्यो, उनी त्यही नै गर्थिन । दैनिक स्याहारसुसारदेखि उसलाई नुहाइदिने काम पनि उनैको जिम्मा थियो । ‘एक रात टुल्कु गुम्बाबाहिर निस्किएको थियो । बिर्सिएरै होला, उसको एउटा मोबाइल उनलाई राखिएको कोठामै छुटेछ । मलाई जेठी दिदीको मोबाइल नम्बर याद रहेछ, फोन गरेँ र सबै कुरा भनेँ,’ उनले यति मात्रै बताउन सकिन् । भोलिपल्ट बिहान ५ बजे नै उनका दिदी, भाइ र अरू केही नातेदारसहित प्रहरी गुम्बामा पुग्यो । उनलाई उद्धार गरेर प्रहरीको महिला सेल कालीमाटी पु‍र्याइयो । प्रहरीले टुल्कुलाई पनि त्यहीँ लग्यो तर टुल्कुले लिएको त्यो लामा अवतार ‘फेक’ हो भन्नेमा उनी विश्वस्त थिइनन । टुल्कुले पनि उनी आफ्नी श्रीमती भएको बताउँदै अहिलेसम्म कमाएको सबै सम्पत्ति उनका नाममा गरिदिने वाचा प्रहरीलाई नै साक्षी राखेर गरिदिए ।
परिवारका सदस्यहरूले इन्कार गरिरहेका थिए, छोरी आफूहरूसँगै घर गइदिए हुन्थ्यो भन्ने बाआमा चाहन्थे तर गुरु र परिवारका दुई थरी कुराले धरमर–धरमरमा परेकी उनले फेरि गुम्बामै फर्किने निधो गरिन । त्यसपछि चयनको रात न उनले बिताइन् न परिवारले । उकुसमुकुसका चार महिनापछि उनको परिवारका सदस्य फेरि गुम्बामा पुगे, त्यहाँबाट उनलाई बाहिर निकालेर ल्याए । परिवारको अगुवाइमा प्रहरीमा उजुरी प‍र्यो, छानबिन सुरु गरियो । त्यसपछि जिल्ला अदालत काठमाडौंमा उनको मुद्दा चल्यो । २०७५ भदौ १५ गते न्यायाधीश मुकेश उपाध्यायको ‘टुल्कुउपरको जबर्जस्ती करणीतर्फको अभियोग दाबी नपुग्ने भएकाले निज प्रतिवादीले अभियोग मागदाबीबाट सफाइ पाउने ठहर्छ ।’ मुद्दा उच्च अदालत पाटनमा पुग्यो । काठमाडौं अदालतले टुल्कुलाई बलात्कार मुद्दामा निर्दोष साबित गरेको झन्डै एक वर्षपछि उच्च अदालत पाटनले फैसला सुनायो, ‘पीडक टुल्कु लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ जरिवाना गराउनू ।’
आजको कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्