अभिनेत्री सुमी मोक्तान अभिनीत चलचित्र “सरौतो” को प्रदर्शन मिति सरेको छ । २२ कात्तिकबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र “घामड शेरे” को कारण सरेको हो । अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का अभिनीत चलचित्र “घामड शेरे” ले मल्टीप्लेक्समा कम सोज पाएको कारण आफ्नो रिलिज डेट सारेर २२ कात्तिक पुर्याएपछि “सरौतो” एक साता पछाडि धकेलिएको छ ।
एकै मितिमा धेरै चलचित्र प्रदर्शनमा आउने भएपछि यो चलचित्रले २९ कात्तिकलाई नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । सारेको मितिमा पनि यो चलचित्रले सोले रिलिज भने पाउने छैन । त्यही दिन दुई नेपाली चलचित्र “माछा माछा” र “मिस्टर नेपाली” पनि रिलिज हुनेछ । “सरौता” लाई आफ्नो ड्रिम प्रोजेक्ट बताउने अभिनेत्री सुमीले चलचित्रको लागि एक्सन सिक्न निकै मेहनत गरेकी छिन् । उनको मेहनतलाई चलचित्रको ट्रेलरमा पनि देख्न सकिन्छ ।
चलचित्रमा विजय लामा, सन्नी सिंह, लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगरलगायतको पनि अभिनय छ । बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण गरिएको हो । राघव कृष्ण गौतमको लेखन रहेको यो चलचित्रबाट निर्देशक हुमागाईंले निर्देशनमा डेब्यू गरेका छन् ।