काठमाडौं, कात्तिक ९ । तिहारको मौका छोपेर पटाकासहितका विस्फोटक पदार्थ र अवैध हातहतियारसहितका वस्तु राजधानी भित्रिन सक्ने भन्दै नाका चेकजाँचलाई प्रहरीले कडाइ गरेको छ । यसका लागि नाकामा तालिम प्राप्त कुकुरसहितको विशेष टोली खटाएको हो ।
यसैगरी, राजधानीको तिहार सुरक्षालाई ध्यान दिँदै काठमाडौं प्रहरीले बढी भीडभाड हुने स्थानमा सादा पोसाकमा समेत प्रहरी खटाइएको छ । यस्तै विभिन्न स्थानमा चेकप्वाइन्टसमेत स्थापना गरेको छ । यसैगरी, तत्कालै घटनास्थलमा पुग्न सक्नेगरी विशेष मोबाइल टोलीसमेत खटाएको छ ।
काठमाडौं प्रहरीले तिहारलाई भव्य तथा सुव्यवस्थित बनाउन जुवातास नखेल्न, पटाका नपड्काउन, भड्किलो गीतसंगीत नबजाउन र विद्युतीय सामग्री प्रयोगमा ध्यान दिन र सावधानी अपनाउन आमराजधानीवासीलाई आग्रह गरेको छ ।
आजको राजधानी राष्ट्रिय दैनिकमा महेश्वर गौतमले यो खवर लेखेका छन् ।