घोराही, ९ कात्तिक : दाङमा बढ्दो शहरीकरण, धमाधम स्वास्थ्य संस्था खुल्नु र दुर्घटना बढ्नुले रगतको माग बढेको छ । त्यसका कारण जिल्लामा सधैँजसो रगतको अभाव हुने गरेको छ । बिरामीलाई आवश्यक परेको समयमा तुरुन्तै रगत पाउने अवस्था अझै हुन सकेको छैन ।
रक्त सञ्चार केन्द्र दाङका अनुसार अझै २० प्रतिशत बिरामीले आफन्तबाट नै रगत लिने गर्दछन् । दैनिक १०-१५ युनिट रगत आवश्यक पर्ने जिल्लामा मासिक सरदर ३०० युनिट रगतको आवश्यकता पर्ने रक्त सञ्चार केन्द्रले जनाएको छ । तुलसीपुर र घोराहीका रक्त सञ्चार केन्द्रका लागि गत आर्थिक वर्ष २०७६-०७७ मा दुई हजार ९६० ले रक्तदान गरेका थिए ।
तुलसीपुरमा ६४४ युनिट रगत सङ्कलन भएकामा ६७३ युनिट रगत खपत भएको रक्त सञ्चार केन्द्र तुलसीपुरका नरेश चौधरीले बताउनुभयो । घोराहीमा दुई हजार ३१६ सङ्कलन भएको र त्यसमध्येमा दुई हजार २०० खपत भएको रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख दिलीप न्यौपानेले बताए ।
घोराहीमा दुई हजार ३१६ युनिटमा एक हजार ८८० युनिट पुरुषबाट र महिलाबाट ४३६ युनिट सङ्कलन भएको उनको भनाइ छ । त्यसैगरी डाइलोसिस सेवा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शुरु भएको र दैनिक छ-सात युनिट खपत हुने गरेको छ । रक्त सञ्चार केन्द्र तुलसीपुरमा फ्रिज सानो क्षमताको भएकाले ६० युनिटभन्दा बढी स्टक गर्न नमिल्ने भएकाले समस्या रहेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।
त्यसैगरी दाङमा ८० प्रतिशत बिरामीले रक्त सञ्चार केन्द्रबाट रगत प्राप्त गर्ने गरेका छन् । “जिल्लामा सबैभन्दा बढी ‘बी’ पोजेटिभ समूहको रगतको अभाव हुने गरेको छ”, केन्द्रका प्रमुख न्यौपानेले भने , “दाङमा सिकलसेलका बिरामी धेरै भएकाले पनि उनीहरुलाई ‘बी’ पोजेटिभ रगत आवश्यक पर्ने भएकाले त्यसको अभाव हुने गरेको हो ।” त्यसैगरी घोराहीबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल र निजी अस्पताल दीपज्योति हस्पिटल, गोर्खा हस्पिटललगायतका अस्पतालमा रगत खपत हुने गरेको छ ।
त्यसबाहेक जिल्ला बाहिर बुटवल र नेपालगञ्जका अस्पतालमा समेत कहिले काहीँ माग भएबमोजिम रगत पठाउने गरिएको उनले बताए । तुलसीपुरमा राप्ती प्रादेशिक अस्पताल, राप्ती लाइफ केयर हस्पिटल र तुलसी हस्पिटलमा रगत खपत हुने गरेको छ तर तुलसीपुरमा रगतको अभाव भए घोराहीबाट ल्याउने र घोराहीमा अभाव भए तुलसीपुरबाट पठाउने गरेको तुलसीपुरका इञ्चार्ज रेमन चौधरीले बताए ।
‘बी’ पोजेटिभ रगत दाङमा अभाव हुने भएकाले मागपूर्ति गर्न जेसीज, रोटरी र रोट्रयाकलगायतका सङ्घसंस्थासँग समन्वय गरी व्यवस्था मिलाउने गरिएको चौधरीको भनाइ छ । अन्य रगतभन्दा ‘ए’ र ‘बी’ नेगेटिभ तथा पोजेटिभ रगतका कहिले काहीँ समस्याले गर्दा शल्यक्रिया गर्दा समस्या हुने गरेको राप्ती प्रादेशिक अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर विनोद सिंहले बताए । रासस