निजगढ, ९ कात्तिक : स्थानीय तह गठन भएको तीन वर्ष बित्न लाग्दा पनि बाराका अधिकांश स्थानीय तहका कार्यालय भाडाकै भवनमा सञ्चालित छन् । बाराका १६ स्थानीयतहमध्ये सुगम र सुविधासम्पन्न उपमहानगरपालिकाको रुपमा चिनिने कलैया उपमहानगरपालिका, जीतपुर सिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकाबाहेकका सबै स्थानीय तहका कार्यालय भाडाका तथा अरु सरकारी कार्यलयका भवनमा सञ्चालनमा रहेका छन् ।
कोल्हवी नगरपालिका, महागढीमाई नगरपालिका, सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका, आर्दश कोतवाल गाउँपालिका, बारागढी गाउँपालिका, करैयामाई गाउँपालिका, विश्रामपुर गाउँपालिका, परवानीपुर गाउँपालिका, फेटा गाउँपालिका, प्रसौनी गाउँपालिका, देवताल गाउँपालिका र सुर्वण गाउँपालिका भाडाकै घरहरुमा सञ्चालित छन् ।
स्थानीय तह गठन भएको लामो समय बित्दा पनि भवन निर्माणका लागि बजेट विनियोजन नहुँदा व्यक्तिगत प्रयोजनका लागि बनाइएका घर तथा अन्य सरकारी तथा गैरसरकारी निकायका भवनबाट कार्यसम्पादन गर्दा समस्या परेको स्थानीय निकायका जनप्रतिनिधिको गुनासो छ ।
छात्रालाई साइकल
प्रदेश नं २ सरकारको ‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत बाराको बारागढी गाउँपालिका–१ को जनता माध्यामिक विद्यालय बुधगाईका ७८ छात्रालाई साइकल वितरण गरिएको छ ।
प्रदेश नं २ सरकारले सो विद्यालयका कक्षा ८ मा अध्यायनरत ७८ छात्रालाई साइकल वितरण गरेको हो । जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका बारागढी गाउँपालिकाका अध्यक्ष देवदत्त बछार थारूले विद्यालयको कक्षा ८ मा अध्यायनरत छात्रालाई साइकल वितरण गरेको हो ।