Logo

मुख्यमन्त्रीद्वारा सरदार वंशु गुरुङको शालिक अनावरण



गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ जसपुरमा निर्माण गरिएको सरदार वंशु गुरुङको शालिकको आज अनावरण गरेको छ । शिकारी शरदार वंशु गुरुङ स्मृति प्रतिष्ठानले निर्माण गरेको शालिकको मुख्यमन्त्री गुरुङले अनावरण गरे ।

विश्वविजेता अङ्ग्रेजलाई एशियामा पहिलोपल्ट हराउने सेना नायक सरदार वंशु गुरुङको स्मृतिमा शालिक निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष लालजङ गुरुङले जानकारी दिए । अर्धकदको शालिक निर्माणका लागि करीब रु दुई लाख ५० हजार खर्च भएको छ । “सरदार वंशु गुरुङ हाम्रो पुर्खा हो”, प्रतिष्ठानका अध्यक्ष गुरुङले भने , “उनको स्मृतिमा शालिक निर्माण गरेका हौँ ।”

शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले सरदार वंशु गुरुङले नेपाल एकीकरणमा महत्वपूर्ण योगदान दिएको चर्चा गर्नुभयो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङ, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङलगायतले सरदार वंशु गुरुङको योगदानको चर्चा गरेको थियो ।

विश्वविजेता अङ्ग्रेजलाई एशियामा पहिलोपटक हराउने सेना नायक सरदार वंशु गुरुङले विसं १८२४ कात्तिक २४ गते सिन्धुलीको पौवागढीमा भएको युद्धमा अङ्ग्रेज फौजका कप्तान किनलोकको नेतृत्वको फौजलाई हराएर देशको अस्तित्व जोगाएका थिए । सरदार वंशु गुरुङ नेपाल एकीकरण अभियानमा ठूलो धक्का लगाउने अङ्ग्रेजको सपना चकनाचुर पार्दै एकीकरण अभियानलाई तीव्रगतिमा अगाडि बढाउने एक वीर योद्धा भएको बताइन्छ ।



प्रतिक्रिया दिनुहोस्