Logo

निर्माण कार्य अधुरै छाडेर लाप्राकबाट अलग्गियो एनआरएनए



काठमाडौं, कात्तिक १० । महाभूकम्प २०७२ बाट क्षति पुगेको गोरखाको लाप्राकस्थित एकीकृत बस्ती निर्माण अधुरै छाडेर गैरआवासीय नेपाली संघ (एनआरएनए) अलग्गिएको छ । एकीकृत बस्तीका घर निर्माण सम्पन्न भइनसके पनि एनआरएनए बस्ती निर्माणबाट अलग भएको हो । खानेपानी वितरण, ढल निर्माण, आन्तरिक सडकको सम्पूर्ण जिम्मा एनआरएनए बस्ती निर्माणबाट अलग्गिएपछि गाउँपालिकाले बाँकी काम गर्ने भएको छ भने एनआरएनएले बजेट उपलब्ध गराउनेछ ।

एनआरएनका निवर्तमान अध्यक्ष भवन भट्टको कार्यकालको अन्तिम दिन २७ असोजमा एनआरएनएले बस्ती बनाउन नसकिने भन्दै अलग भएको घोषणा गरेको थियो । दुई वर्षमा बस्ती निर्माण गर्ने भन्दै २०७२ सालको अन्तिमबाट काम सुरु भएको थियो । भूकम्पले लाप्राकको बस्ती ध्वस्त बनाएपछि गुप्सीपाखामा सार्न एनआरएनएले करिब १८।३७ हेक्टर वनको क्षेत्रफलमा ५ सय ७३ घर बनाउन थालेको थियो ।

ती ठाउँमा घरको संरचना तयार भए पनि काठ छाप्ने, शौचालय बनाउने काम सम्पन्न भएको छैन । एनआरएनए आर्थिक अभाव भएको भन्दै निर्माण सम्पन्न नै नगरी बस्तीको बाँकी काम थाती राखेर अलग्गिनेमा पुगेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले केही समयअघि लाप्राकमा एनआरएनएद्वारा पुनर्निर्मित बस्तीबारे संघका तत्कालीन अध्यक्ष भवन भट्ट, गाउँपालिका अध्यक्ष, वडाअध्यक्षलगायतसँग कुरा गरेको र उनीहरूले पुनर्निर्माण सम्पन्न भएका घरमा भूकम्पपीडित परिवारहरूलाई क्रमशः राख्ने प्रक्रिया सुरु गर्न सकिने बताएको जनाएका थिए । सोही दिन एनआरएनए बस्ती निर्माणबाट हटेको थियो । आजको राजधानी राष्ट्रिय दैनिकमा टेनिस रोकाको समाचार छ ।



प्रतिक्रिया दिनुहोस्