Logo

भाइटीका विधि



काठमाडौं,१२ कात्तिक । तिहार (यमपञ्चक) को अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीबहिनीले दाजभाइलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाअर्चना गरी टिका लगाइदिने र विभिन्न मिष्ठान भोजन खुवाउने गरिन्छ । दाजुभाइले दिदीबहिनीलाई पूजाअर्चना गरी दान दक्षिणा एवं वस्त्रादि दिने गरिन्छ । यस वर्ष भाइटिकाको साइत कात्तिक १२ गते मंगलबार मध्यान्ह ११ बजेर ५५ मिनेटमा जुरेको पञ्चाङ्ग निर्णायक समितिले तोकेको छ ।

परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्ना दाजु यमराजलाई विशेष मानसम्मान गर्दै पूजाअर्चना गरी टिका लगाइदिएको धार्मिक महत्व छ । यमपञ्चकका पाँच दिन यमराजले बहिनी यमुनाको घरमा बास गर्छन्, भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि सुन्न पाइन्छ ।

भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गरी यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमली, दूबोको माला र सप्तरङ्गी टिका लगाई दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुख संमृद्धिको कामनासहित आशिर्वाद प्रदान गर्दछन् ।

भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ । दिदीबहिनीले दाजुभाइलाई भाइटीकाको अघिल्लै निम्ता स्वरूप पान, सुपारी आदि दिइन्छ । भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाइ टिका नलगाई केही खाँदैनन् । त्यस दिन बिहानै नुहाएर यमराज, हनुमान, विभीषण, परशुराम अष्टचिरञ्जीवीको पूजा गर्दछन् ।

भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सय पत्रीको माला, रोटी, मीठा(मीठा परिकार जुटाइन्छ । पहिला दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेकिन्छ । पानी तथा तेलले सात घेरा हाली दाजुभाइलाई छेकिन्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइन्छ । सगुनका रूपमा दही खान दिइन्छ ।

भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंगकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । सप्तरंगी टीकाले दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास छ । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदानप्रदान गरिन्छ ।



प्रतिक्रिया दिनुहोस्