Logo

मधेश-पहाडको एकतालाई सदृढ बनाउँछौं : मन्त्री भट्टराई



काठमाडौं, १३ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले मधेश–पहाडको एकता र संस्कृतिलाई सदृढ एवं भाषाको आदानप्रदानको योजना कार्यान्वयनको तयारी गरिरहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ धनुषाद्वारा आज जनकपुरधाममा आयोजित छलफल कार्यक्रममा मन्त्री भट्टराईले मैथिली भाषाका महाकवि विद्यापति देशकै महाकवि भएको भावनालाई विस्तार गर्न पहाडमा विद्यापतिको सालिक निर्माणको तयारी गरिरहेको बताए ।

पहाडी जिल्लाहरू इलाम, दैलेख र डडेलधुरा लगायतका क्षेत्रमा महाकवि विद्यापतिको सालिक निर्माणको योजना सकारात्मकरूपमा अघि बढिरहेको उनले जानकारी दिए । मन्त्री भट्टराईले सरकारले प्रदेश नं. २ मा धार्मिक एवं सांस्कृतिक पर्यटन ‘सर्किट’ निर्माण गर्ने र रामायण सर्किट विस्तारको योजनाका बारेमा छलफल गरिरहेको बताए ।

पर्यटकीय प्रवद्र्धनका लागि अन्तरप्रदेश हवाई सेवा सञ्चालन तथा जनकपुरधामदेखि पशुपतिनाथ, पशुपतिनाथदेखि मुक्तिनाथ र मुक्तिनाथदेखि दामोदर कुण्डसम्म हवाई मार्ग विस्तार गर्ने गृह कार्य भइरहेको पनि उनले स्पष्ट पारे ।

भट्टराईले सरकारले जनकपुरधाम विमान स्थललाई क्षेत्रीय विमानस्थलमा विस्तार गर्ने र दामोदर कुण्ड नजिकै सबैभन्दा अधिक उचाइमा विमानस्थल निर्माण गर्ने तथा सोबाट पर्यटकीय आकर्षणमा वृद्धि हुने अवधारणा कार्यान्वयनको पक्षमा गृहकार्य गरिरहेको जनाए । मन्त्री भट्टराईले सरकारले सातै प्रदेशमा एउटा प्रमुख पर्यटकीय गन्तव्य स्थलको निर्माण गर्ने अवधारणा राखेको छ भन्दै प्रदेश नं. २ मा धार्मिक र सांस्कृतिक स्थललाई जोडने सर्किट निर्माणको आवश्यकतामा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्