महाभारतमा धृतराष्ट्र हस्तिनापुरका महाराज विचित्रवीर्यकी प्रथम पत्नी अम्बिकाको छोरा थिए । उनको जन्म महर्षि वेदव्यासको वरदान स्वरूप भएको थियो । ऋषि वेदव्यासले शक्तिपात गर्दा अम्बिका डराएर आँखा बन्द गर्दा अन्धा धृतराष्ट्रको जन्म भएको थियो ।
धृतराष्ट्र बल विद्यामा निपुण थिए । युवा भएपछि धृतराष्ट्र अन्धो भएको कारण राज्यको उत्तराधिकारी भाई पाण्डुले प्राप्त गरे । तर पाण्डुको मृत्युपछि उनी नै महाराजा भएका थिए । विदुरको माध्यमबाट धृतराष्ट्र सम्पूर्ण जगतलाई अवलोकन गर्थे । उनी अन्धो भएपनि शक्तिशाली थिए । उनी नेत्रहीन भएपनि बल र बुद्धमा अब्बल थिए । उनले आफ्नो छोराहरुको मृत्युको बदला लिन युद्धको समाप्तिपछि भिमलाई अंगालो हाल्न खोजेका थिए । तर उनको यो चाललाई बुझेर श्री कृष्णले भिमको प्रतिमासँग अंगालो हाल्न दिएका थिए । उनले त्यो प्रतिमालाई अंगालो हालेर फुटाएका थिए ।
धृतराष्ट्रको विवाह गांधारकी राजकुमारी गांधारीसँग भएको थियो । उनले आफ्नो श्रीमान अन्धो भएको थाहा पाएपछि आफुले पनि आँखामा पट्टी बाँधेकी थिइन् । उनीहरुबाट सय छोराहरू र एक छोरीकी जन्म भएको थियो । सय पुत्रहरुलाई कौरव भनियो । दुर्योधन र दुस्शासन क्रमशः पहिला दुई सन्तान थिए ।