काठमाडौं, १५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भाृत संगठन नेपाल विद्यार्थी संघको विधान पक्षधर विद्यार्थीहरुले पार्टी मुख्यालय सानेपामा धर्ना तथा जुलुश प्रदर्शन गरेका छन् । विधान मिचेर संघको तदर्थ समिति चयन गर्न खोजिएको भन्दै उनीहरुले कडा आपत्ति जनाएका छन् । उनीहरुले ‘विधान मिच्न पाईँदैन्, वृद्धाआश्रम चाहिँदैन्’ भन्ने मूल नारा लगाएका छन् ।
हातहातमा प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरिरहेका छन् । कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकले आज तदर्थ समिति गठन गर्ने तयारी गरिरहेको बेला विधान पक्षधर विद्यार्थीहरुले यस्तो विरोध गरेका हुन् । उनीहरुले यसअघि कुन नेता कति वर्षमा संघको अध्यक्ष भएका थिए ? भन्ने खुलाउँदै प्लेकार्ड प्रदर्शन पनि गरेका छन् ।
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम