Logo

महराले बयानमा भने-ममाथि षड्यन्त्र भयो



काठमाडौं, १५ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूविरुद्ध लागेको जर्बजस्ती करणी उद्दोगको अभियोग अस्वीकार गर्दै बयान दिएका छन् । शुक्रबार जिल्ला अदालत काठमाडौंको बन्द इजलाशमा बयान दिदै उनले आफूमाथि षड्यन्त्र भएको भन्दै अभियोग अस्वीकार गरेका हुन् ।

बन्द इजलाशमा महरा निकट कानुन व्यवसायीले जनाए अनुसार घटनामा प्रहरीले जुटाएको भनिएको प्रमाणलाई समेत झुटो भनेका छन् । अभियोगमा कुनै सत्यता नभएको भन्दै किटानी जाहेरी दिने रोशनी शाहीसँग पारिवारिक सम्बन्ध रहेको र अभिभावक सरहको भूमिका समेत निभाएको जवाफ दिएका थिए ।

यसअघि सरकारी वकिलको कार्यालयले जर्बजस्ती करणी उद्दोगको अभियोगपत्र दर्ता गरेको थियो । बिहिबार काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर गरिएको थियो ।

महराको बयानपछि आइतबार विहान उनलाई अदालतमा उपस्थित गराइने भएको छ । थुनछेकको बहस आइतबारबाट शुरु हुने हुँदा आउँदा हप्ता उनी पुर्पक्षका लागि थुनामा रहने वा रिहा हुने टुंगो लाग्न सक्छ ।

महरामाथिको कानुनी प्रक्रिया लामो हुने देखिएको छ । उनीमाथि प्रहरीले दायर गरेको अभियोग प्रमाणित भएमा उनी साँढे सात वर्ष जेल जान सक्छन् । जर्बजस्ती करणी उद्दोगमा महरालाई किटानी जाहेरी दिने रोशनी शाहीको उमेर अनुसार पाँच वर्ष कैद सजायको व्यवस्था छ । महरा सार्वजनिक पद धारण गर्दा घटना घटेको भनिएकाले थप सजाय बढ्दा साँढे सात वर्ष पुग्छ ।

महरामाथि अनुसन्धानका लागि पटक पटक म्याद थप गरिएपछि २५ दिन कटेकाले मुद्दा दर्ता भएको हो । महरा १९ असोजमा पक्राउ परेका हुन् ।

महरा प्रकरणको २६ दिनमा के के भयो

१८ असोजमा रोशनीको किटानी जोहरीले महरा १९ असोजमा पक्राउ परे । तर, ३ कात्तिकमा उनले महराविरुद्ध जाहेरी प्रहरीको करकापले गरेको अदालतसमक्ष बयान दिइन् । यो २६ दिनबीच के के भएः

१२ असोजमा रोशनी शाहीको तीनकुनेस्थित कोठामा पुगेका भनिएका महराबारे प्रहरीलाई सोही राति नै जानकारी पुगिसकेको थियो । प्रहरीले राति नै प्रारम्भिक अनुसन्धान गरिसकेको थियो । यो खुलिसकेको विषय हो ।

१३ असोजमा हाम्रा कुरालाई रोशनीले अन्तवार्ता दिएर जर्बजस्ती गरेको देखि महरासँगको पुरानो र वर्तमानको सम्बन्ध खुलाएकी थिइन् ।

१४ असोजमा महराले नेकपाभित्रको दबाबपछि राजीनामा दिए । सोही दिन रोशनी शाहीको भनाई बदलियो । विहानसम्म महराका स्वकीय सचिवले जारी गरेको विज्ञप्तिको खण्डन गरेकी उनले दिउँसो महरा निर्दोष रहेको भन्नथालिन् । उनले नागरिकन्यूजलाई अन्तवार्ता दिएर महराको पक्षमा बोलिन् । त्यसपछि उनी लगातार महराको पक्षमा उभिइन् ।

१६ असोजको विहान उनको सम्बन्ध विच्छेदको विषय बाहिर आयो । पति चित्रजंग शाहीले डिभोर्सको सम्झौता गरेको पत्र सार्वजनिक गरे ।

१७ असोजमा महरा प्रकरणबारे राष्ट्रिय मानवअधिकार आयोगले चासो देखायो । प्रहरीसँग यस घटनाबारे जानकारी माग्यो । लगत्तै राष्ट्रसंघीय नियोग र नेपालस्थित पाँच देशका कुटनीति नियोगले संयुक्त विज्ञप्ति जारी गरी महरा प्रकरणतर्फ लक्षित गर्दै नेपालमा महिला हिंसाबारे चासो व्यक्त गरे ।

१८ असोजमा घटनाले अर्को मोड लियो । रोशनी शाहीले प्रहरीमा कृष्णबहादुर महराविरुद्ध किटानी जाहेरी दिइन् । योसँगै अब घटनाको अनुसन्धान नयाँ मोडमा पुग्यो ।

१९ असोजमा महरा पक्राउ । पक्राउ अघि नेकपा नेताहरुको परामर्श । महरालाई पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओली देखि गृहमन्त्री रामबहादुर थापा बादलको अनौपचारिक निर्देशन ।

२३ असोजमा महरा रक्तचाप र स्वासप्रश्वासको समस्या आएको भन्दै नर्भिक अस्पताल भर्ना

२८ असोजमा महरालाई हिरासतमा राख्न म्याद थपका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गरायो, पाँच दिन म्याद थप

१ कात्तिकमा महरासँग प्रहरीको बयानको प्रयास, स्वास्थ्यमा खराबी भएको भन्दै महरा सीसीयूमा भर्ना

३ कात्तिकमा महरालाई अदालतमा उपस्थित गराइयो, रोशनी शाही उपस्थित भई महराको बचाऊ । सोही दिन पाँच दिन म्याद थपको अनुमति

७ कात्तिकमा महरालाई थप एक हप्ता हिरासतमा राख्न म्याद थपको अनुमति, महराको तिहार हिरासतमा

१४ कात्तिकमा महरामाथि थुनछेकको बहस, सरकारी वकिलको कार्यालयले जर्बजस्ती करणी उद्दोगमा मुद्दा दायर गर्यो

१५ कात्तिकमा महरामाथि काठमाडौं जिल्ला अदालतको बन्द इजलाशमा बयान । महराले आफूमाथिको अभियोग अस्वीकार गर्दै षड्यन्त्र भएको भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot