काठमाडौं, कार्तिक १८ । सर्वोच्च अदालतमा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दा ४६औं पेसी तोकेर पनि सुनुवाइ हुन सकेन । सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा सो मुद्दामा फैसला रोक्न माग गर्दै कानुन व्यवसायीले माग गरेसँगै मुद्दाको पेसी सरेको हो ।
सात वर्षअघि विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा ठहरपछि सर्वोच्चमा पुनरावेदन भएको जोशीको भ्रष्टाचार मुद्दामा आइतबार जोशीका कानुन व्यवसायीले आय गणनामा यसअघि भएको व्याख्याविरुद्धको मुद्दा विचाराधीन रहेकाले सो मिसिल पनि साथै राख्न माग गरेपछि सुनुवाइ सरेको हो ।
सातपटक पक्षले र तीनपटक विपक्षका कानुन व्यवसायीले सो मुद्दा सारेका हुन् । जोशीको मुद्दा ११ पटक हेर्न नमिल्ने इजलासमा पेसी तोकिएको थियो भने सातपटक हेर्न नभ्याइने हुँदै पेसी सरेको थियो । अहिलेसम्म ६४ जना न्यायाधीशको इजलासमा जोशीको मुद्दा पेसी परिसकेको छ भने ३३ संयुक्त इजलाशमा पेसी तोकिँदै सुनुवाइ टर्दै आएको थियो ।आजको राजधानी दैनिकमा खवर छ ।