Logo

मेडिकल कलेजलाई कारबाही गर्न गृहलाई पत्राचार



काठमाडौं, कार्तिक १९ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । निजी कलेजले निर्देशनअनुसार शुल्क फिर्ता नगरेपछि कारबाहीका लागि गृहलाई पत्राचार गरिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलको सचिवालयले जनाएको छ ।

‘मेडिकल शिक्षा अध्ययन गरिरहेका विद्यार्थीबाट सरकारले तोकेभन्दा बढी शुल्क लिएका कलेजलाई कानुनबमोजिम आवश्यक कारबाही गर्न अनुरोध छ,’ पत्रमा भनिएको छ । मन्त्रिपरिषद्ले २०७५ असोजमा शुल्क बढी लिए विद्यार्थी अभिभावकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्ने निर्णय गरेको थियो । उजुरी अध्ययन गरेर प्रशासनलाई कलेजविरुद्ध ठगी मुद्दा चलाउन निर्देशन दिइएको थियो ।

एक महिनाअघि गृहमन्त्री रामबहादुर थापा र शिक्षामन्त्री पोखरेलको उपस्थितिमा दुई मन्त्रालयका पदाधिकारी बैठकले निजी मेडिकल कलेजलाई एक महिनाभित्र शुल्क फिर्ता वा समायोजन गर्न निर्देशन दिएको थियो । कलेजहरूले निर्देशन अवज्ञा गर्दै उल्टै आगामी शैक्षिक सत्रमा विद्यार्थी भर्ना रोक्ने चेतावनी दिँदै आएका छन् । आजको कान्तिपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot