Logo

तिलक परियार प्रदेश प्रमुख हुँदा बाँकेवासीमा खुशीयाली



राँझा, १९ कात्तिक : बाँकेको कोहलपुर निवासी पुराना कम्युनिष्ट नेता तिलक परियार प्रदेश प्रमुखमा नियुक्त भएपछि बाँकेवासी खुशी भएका छन् । दुई पटक सांसद हुनुभएका परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त सोमबार नियुक्त गरेकी छिन् । परियारको स्थायी बसोबास अहिले कोहलपुर नगरपालिका–१२ निबुवामा छ ।

दलित गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य एवं बाँकेका सामाजिक अगुवा डिलबहादुर परियारले यो निर्णय बाँकेवासीका लागि मात्र नभई समग्र देशभरका दलित समुदायका लागि पनि खुशीको विषय भएको बताए । संविधानसभा सदस्य दिनेशचन्द्र यादवले दुई पटक सांसद भइसक्नुभएका परियारलाई पार्टीले प्रदेश प्रमुख बनाएर राम्रो काम गरेको बताए ।

बाँकेको व्यक्तिलाई प्रदेश प्रमुख बनाउने निर्णयले बाँकेवासीमा खुशीयाली थपेको उनले उल्लेख गरे । “पार्टीले योगदान गरेको व्यक्तित्वलाई सम्झिएर अवसर दिएको छ, कम्युनिष्ट पार्टी बनाउनमा उहाँको ठूलो योगदान रहेको छ”, नेकपा बाँकेका अध्यक्ष एवं प्रदेशसभा सदस्य आइपी खरेलले भने , “उनलाई प्रदेश प्रमुख बनाउने निर्णय बाँकेवासीका लागि खुशीको कुरा हो ।” रोल्पाबाट शुरुमा बाँकेको राप्तीसोनारी गाउँपालिकाको विनौनामा बसाइँ सराई गरेका परियार विसं २०५० पछि कोहलपुर आएका थिए ।

उहाँ बाँकेको कम्युनिष्ट आन्दोलनमा अगुवा नेता हुन् । तत्कालीन माओवादीका सचिवालय सदस्यसम्म हुनुभएका परियार गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले माओवादीलाई अन्तरिम व्यवस्थापिका संसदमा ८३ सिट दिँदा सांसदमा परेका थिए ।

विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा क्षेत्र नं १ बाट परियार विजयी भएका थिए । तत्कालीन नेकपा माओवादी विभाजन हुँदा शुरुमा मोहन वैद्यको पार्टीमा लागेका परियार पछि विप्लव समूह हुँदै माओवादी केन्द्रमै फर्किनुभएको थियो । शिक्षामा स्नातक उत्तीर्ण परियार विगतमा शिक्षकसमेत भएका थिए । भारतमा काम गर्दै पढ्दै गरेका उनि एसएलसी उत्तीर्ण गरेपछि रोल्पा फर्केका थिए । उनि केही समय रोल्पामा शिक्षक पनि भएका थिए । उनले भूमि सुधार कार्यालयमा खरिदारको कामसमेत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्