काठमाडौं, २० कात्तिक । निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जना मतदाताले भाग लिने जनाएको छ । निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि आगामी मंसिर ५ गतेदेखि ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम पनि संचालन गर्ने कार्य योजना तय गरिएको जनाएको छ। उपनिर्वाचनको उम्मेदवारी मनोनयन बिहीबार हुनेछ।
निर्वाचन आयोगले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन काम यही कार्तिक २१ गते बिहीबार हुने जानकारी गराएको हो।
कार्तिक २१ गते बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म प्रतिनिधिसभा र प्रदेश सभासदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन हुनेसहितको कार्यतालिका सार्वजनिक गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
उम्मेदवारहरुको अन्तिम नामावली भने कार्तिक २४ गते प्रकाशन हुने आयोगले जानकारी दिएको छ। सो उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य-३ तथा स्थानीय तह प्रमुख-१ लगायत ३७ जिल्लाका ५२ स्थानहरुमा मतदान हुँदैछ।
आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि भने उम्मेदवारी मनोनयन आगामी कार्तिक २७ गते हुने पनि बताएको छ। निर्वाचन आयोगले उपनिर्वाचनका लागि २ सय ४७ वटा मतदान स्थल र ५ सय ३७ वटा मतदान केन्द्र पनि तोकेको छ। आयोगले मतदानमा भाग लिनका लागि मतदाता परिचय पत्र लिएर आउन पनि मतदातालाई आह्वान गरेको छ।
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम