काठमाडौं, २० कात्तिक । भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतिक नक्शाबारे सरकार बोलेको छ । सरकारले भारतको नयाँ नक्शा मान्य नहुने भनेको छ ।
परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी भनेको छ, ‘दुवै देश बीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धि विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने स्पष्ट छ ।’
भारतको नयाँ नक्शामा कालापानी क्षेत्र उसको सीमाभित्र उल्लेख गरिएपछि विरोध शुरु भएपछि सरकार बोलेको हो । सरकारले भनेको छ, ‘कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ ।’
विज्ञप्तिमा सरकारले सीमाना रक्षाको लागि प्रतिवद्ध रहेको र दुई मित्र राष्ट्रहरु बीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य प्रमाणहरुको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा रहेको उल्लेख गरेको छ । सरकारले नेपाल र भारत दुवै पक्षबाट आपसी सहमतिमा सीमा सम्बन्धी विषयहरु टुंग्याउनुपर्नेमा जोड दिएको छ ।
कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्शाभित्र पारेको छ । उसले विगतमा पनि यस्तै गरेको थियो । नेपालको नक्शामा कालापानी नेपालमा पर्छ ।