काठमाडौं, २२ कात्तिक । अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि हस्पताल लगिएको छ । केसी चिकित्सा शिक्षा सुधार र यसअघि सरकारसँग भएका सहमति कार्यान्वयनको माग गर्दै डडेल्धुरामा अनशनरत छन् । उनको यो १७ औं अनशन हो । केसी अनशन बसेको आज छैटौं दिन हो ।
उनलाई आज साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको हो। डा केसीको रक्तचाप तलमाथि भइरहेकाले उनको सहमतिमा अस्पतालमा भर्ना गरिएको सो अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जीतेन्द्र कँडेलले जानकारी दिए। प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र स्थानीय प्रसाशनको रोहबरमा डा केसीलाई अस्पताल भर्ना गरिएको डा कँडेलले बताए।
चिसोका कारण डा केसीको स्वास्थ्यमा समस्या देखिएको उनका भाइ किशोरले बताएका छन्। डा केसीले अस्पतालबाटै अनशन जारी राख्ने उनले बताए। सात बुँदे माग राखी डा केसीले कात्तिक १८ देखि अनशन थालेका हुन्। रासस