Logo

१० महिनामा १० लाख पर्यटक भित्रिए, २० लाख भित्र्याउने आधार बन्दै



काठमाडौं, कात्तिक २३ । विगत १० महिनाको अवधिमा करिब १० लाख पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार सन् २०१९ को अक्टोबरसम्म ९ लाख ७५ हजार ५ सय ५७ जनाले नेपाल भ्रमण गरेका छन् । यो संख्या गत वर्षको तुलनामा ८ प्रतिशतले बढी हो ।
नेपाल घुमघामका लागि मुख्य सिजन मानिने अक्टोबरमा पर्यटकको संख्यामा आएको वृद्धिले कुल पर्यटक संख्या बढाउन सहयोग पुगेको छ । विभागका अनुसार अक्टोबरमा मात्रै १ लाख ४३ हजार विदेशी नेपाल आएका छन् । अघिल्लो वर्षको अक्टोबरमा यस्तो संख्या करिब एक लाख ३१ हजार थियो । यस हिसाबले अक्टोबरमा भित्रिने पर्यटकको संख्यामा अघिल्लो वर्षको तुलनामा १० प्रतिशतको वृद्धि आएको छ ।
अक्टोबरमा सबैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल आएका छन् । विभागका अनुसार १५ हजार चिनियाँ पर्यटक यस अवधिमा नेपाल भित्रिएका छन् । काठमाडौँ, पोखरा र सौराहा घुमघामसहित पछिल्लो समय पदयात्रामा चिनियाँ पर्यटकको रोजाइमा पर्न थालेको छ । चीनपछि करिब १३ हजार भारतीय पर्यटकले नेपाल घुमघाम गरेका छन् । यो समयमा भारतीय पर्यटकको मुख्य रोजाइ पोखरा र मुस्ताङ हुने गर्छ । भारतसहित सार्क क्षेत्रबाट २१ हजार सात सय पर्यटक यो अवधिमा नेपाल आएका छन् ।
त्यस्तै चीनसहित एसिया क्षेत्रबाट करिब २९ हजार पर्यटक नेपाल भित्रिएका छन् ।
पर्यटक आगमनको महादेशीय हिसाबले एसिया क्षेत्रबाट पर्यटकको संख्यामा सामान्य वृद्धि भए पनि तुलनात्मक रूपमा बढी खर्च गर्ने मानिएका युरोप र अमेरिकाबाट नेपाल आउने संख्या भने घटेको छ । युरोपबाट सबैभन्दा बढी बेलायतबाट ८ हजार ६ सय ७२ जना पर्यटक नेपाल आएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ७ दशमलव ४ प्रतिशतले कम हो । त्यसपछि जर्मनीबाट सात हजार ३ सय ८ र फ्रान्सबाट छ हजार ७ सय ७७ पर्यटक आएको तथ्यांक छ । यी दुवै देशबाट क्रमशः २.५ र ९.६ प्रतिशतले पर्यटकको संख्यामा कमी आएको छ । युरोपका अधिकांश मुलुकबाट नेपाल आउने पर्यटकको संख्यामा कमी देखिएको छ । समग्रमा गत वर्ष ४४ हजार ७ सय ७३ युरोपेली पर्यटक अक्टोबरमा नेपाल आएकोमा समीक्षा अवधिमा ५ दशमलव पाँच प्रतिशतले घटेर ४२ हजार २९७ पर्यटक नेपाल आएका छन् ।
अमेरिकी क्षेत्रबाट मुख्यतः क्यानडा र संयुक्त राज्य अमेरिकाबाट नेपाल भित्रिने पर्यटकको संख्यामा २.४ प्रतिशतले कमी आएको छ । संयुक्त राज्य अमेरिकाबाट १२ हजार एक सय पर्यटक आएका छन् जुन अघिल्लो अक्टोबरको तुलनामा २ दशमलव ५ प्रतिशतले कम हो । ओसियाना क्षेत्रअन्तर्गतका अस्टे«लिया र न्युजिल्यान्डबाट आउने पर्यटकको संख्या ३.७ प्रतिशतले घटेर ६ हजार ३ सय पुगेको छ । जेट एयरको उडान बन्द भएको र गैरआवासीय नेपाली संघको नवौँ विश्व सम्मेलनका कारण अधिकांश ठूला होटल व्यस्त भएपछि सिट अभावमा यस्ता मुलुकका देशको पर्यटक संख्यामा कमी आएको पर्यटन व्यवसायीको भनाइ छ ।
१० महिनाको अवधिभर नेपाल भित्रनेमा सबैभन्दा बढी भारतबाट एक लाख ७० हजार र चीनबाट एक लाख ३४ हजार दुई सय पर्यटक छन् ।
आजको गोरखापत्र राष्ट्रिय दैनिकमा विश्वास रेग्मीले समाचार लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्