काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सबै सल्लाहकारलाई राजीनामा दिन निर्देशन दिएको खुलासा भएको छ । प्रधानमन्त्री निकट उच्च स्रोतले दिएको जानकारीअनुसार पछिल्लो समय प्रधानमन्त्री आफ्ना सल्लाहकारहरुको कामबाट त्यति सन्तुष्ट छैनन् । सल्लाहकारहरुको बारेमा पार्टीभित्रै चर्को आलोचना भएपछि प्रधानमन्त्री ओली यो निर्णयमा पुगेको स्रोतको दाबी छ ।
नेकपाका एक नेताले भने,‘सल्लाहकारहरुको विवादित कामले गर्दा प्रधानमन्त्रीको समेत स्वयम आलोचना भएको थियो । अब प्रधानमन्त्रीज्यू निर्मम ढंगले अघि बढ्ने तयारीमा जुट्नुभएको छ । सम्भवतः दुई चार दिनभित्रै सबै सल्लाहकारहरुलाई राजीनामा दिन लगाउने तयारीमा छन् । यदि राजीनामा नदिए उनीहरुलाई बर्खास्ती गर्नेसम्म ओलीको तयारी छ ।’ दुई दिनअघिमात्रै ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई बालुवाटारमा बोलाएर यस विषयमा पनि गम्भिर छलफल गरेका थिए । प्रचण्डले पनि नयाँ ढंगले अघि बढ्न सुझाएका थिए ।