काठमाडौं, कार्तिक २६ । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।
भारत सरकारले गत २ नोभेम्बरमा सार्वजनिक गरेको नक्सामा नेपाली भूभागलाई आफ्नो क्षेत्रमा समेटेपछि समितिले सरकारको आधिकारिक धारणा माग्दै यस्तो निर्देशन दिएको हो ।समितिले सीमा अतिक्रमणको विषय अन्तर्रा्ष्ट्रियकरण गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
राजनीतिक तथा कूटनीतिक पहलबाट समस्या समाधान नभए सो विषयलाई अन्तर्रा्ष्ट्रियकरण गर्ने निर्देशन दिएको हो ।
सोमबार बसेको समिति बैठकले सरकारलाई दिएको निर्देशनमा भनिएको छ, ‘सो क्षेत्रलाई नेपालको सार्वभौम अधिकार कायम राख्न तत्काल उच्चस्तरीय राजनीतिक एवं कूटनीतिक पहल गर्नुपर्दछ ।
दुई देशबीचको कूटनीतिक पहलबाट समस्या समाधान नभएमा यस विषयलाई अन्तर्रा्ष्ट्रियकरण गर्न समेत नेपाल सरकारलाई सुझाव छ ।’
भारतले नेपाली भूमि अतिक्रमण गरी नक्सा तयार पारेको विषयमा नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था, नेपाली नागरिक र सञ्चारमाध्यमलाई एक ठाउँमा उभिन समितिले आग्रह गरेको आजको राजधानी दैनिकमा खवर छ ।